आइतबार, असोज २०, २०८१

कोरोना : सचेतनामा खट्दै जनप्रतिनिधि

नेपालखोज २०७६ चैत १४ गते १६:२०

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि कोभिड – १९ को सम्भावित जोखिम हुन नदिन नगरवासीलाई सचेतना फैलाउन अहोरात्र खटिएका छन । साबुन पानीले पटक पटक हात धुन, घर भित्रै बस्न, गाउँभन्दा अन्यत्रबाट आएकालाई अलग क्वारेण्टाइनमा राख्न र उच्च ज्वरो लगायतका लक्षण देखा परे तत्काल ‘हेल्थ डेस्क‘मा सम्पर्क गर्ने लगायतका जानकारी उनीहरुले प्रदान गरिराखेका छन् । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न नगर प्रमुख कर्णबहादुर हमालको संयोजकत्वमा पूर्व तयारी प्रति कार्यसम्बन्धि नगरपालिका स्तरीय ३३ सदस्यीय समिति गठन गरी परिचालन गरिएको छ ।

नौ वटै वडामा वडा स्तरीय वडा समिति गठन गरी स्वास्थ्यकर्मी र महिला स्वयंसेविका परिचालन गरिएका छन । गठित समितिले शंकास्पद व्यक्तिको विवरण सङ्कलन, क्वारेण्टाइनमा राख्न, अस्पताल पु¥याउन र हेल्थ डेस्क व्यवस्थापनको कार्यमा क्रियाशील रहेको उनले   बताए ।

“ विशेष परिस्थिति बाहेक घर बाट बाहिर निष्कन नगरवासीलाई निषेध गरेका छौं उनले भने, “भारत लगायत बाह्य मुलुकबाट फर्केकाहरुलाई निगरानीमा राखिएको छ । यसका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी, जनप्रतिनिधिको सहयोग लिइएको  छ ।”

अन्यत्रबाट फर्किएकालाई नगरपालिकाको वडा नं ७ मा छुट्टै हेल्थ डेस्कको व्यवस्था गरेको छ । नगरपालिकाले वडा नं १,२,३ को बाणि बजार, वडा नं ४,५,६ को गुलरीया बजार, वडा नं ७ र ८ को बासिन्दालाई पायक पर्ने वडा नं ८ को कार्यालयमा हेल्थ डेस्कको व्यवस्था गरेको छ । गुलरीया बजारकै कञ्चन बहुमुखि क्याम्पसमा क्वारेण्टाइनको व्यवस्था गरिएको छ । रु ५ लाख ५० हजारको लागतमा स्वास्थ्यकर्मीका लागि सुरक्षा उपकरण र पोशाकको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख हमालले नगरवासीलाई आवश्यक पर्ने खाद्यान्न, औषधि, तरकारी खरिद गर्नका लागि निश्चित समय निर्धारण गरिएको जानकारी दिए । स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान एम्बुलेन्स सेवाको व्यवस्था गरिएको छ ।

हाल सम्म नगर क्षेत्रमा कोरोना भाइरसका शंकास्पद विरामी फेला परेका छैनन् । क्षेत्रफलका दृष्टिकोणले कृष्णपुर नगरपालिका जिल्लाका सबै भन्दा ठुलो नगरपालिका हो । अधिकांश परिवार गहुँ बाली लगाए पछि जिल्लाका बाह्य क्षेत्र र भारतमा रोजगारीका लागि जाने गरेका छन । भारतमा कोरोनाको जोखिम बढेपछि बाह्य क्षेत्र र भारतमा काम गर्ने घर फर्केका छन् । सीमा क्षेत्रमा स्वास्थ्य स्वास्थ्य जाँच गराएर अधिकांश फर्केका छन् । कुनै “स्वास्थ्य समस्या परे सम्पर्कमा भनेका छौ ।”नगरप्रमुख हमालले भने ।

प्रतिक्रिया