शुक्रबार, चैत १६, २०८०

मध्यपुर थिमिका घरघरमा स्वास्थ्यकर्मी, स्वाब सङ्कलन शुरु

नेपालखोज २०७६ चैत १५ गते १०:१९

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोभिड–१९ को संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण तयारी गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्नाका साथै कोरोना संक्रमित कोही आइहाले तत्कालै उपचार गर्नका लागि २४ घण्टा चिकित्सकसहितको टोलीलाई तयारी अवस्थामा राखेको छ ।

विदेशबाट आएका नागरिकको पहिचान गरी उनीहरुका घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै स्वास्थ्य परीक्षणदेखि स्वाब संकलन शुरु गरिएको छ । “मध्यपुरथिमिमा विदेशबाट फर्किएका प्रत्येक नागरिकको पहिचान गर्दै घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर ज्वरो नाप्ने, ट्राभल हिस्ट्रीदेखि सबै डाटा लिने गरेका छौँ”, नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने “टेकु अस्पतालबाट किट ल्याएर शंकास्पद व्यक्तिको स्वाब संकलन गरी टेकु पठाउन शुरु गरेका छौँ ।”

विदेशबाट फर्किएकालाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै उहाँले शंकास्पद आए उपचार गर्न आइसोलेशनदेखि चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए। नगरपालिकाले अहिलेसम्म वडा नं ५, ६ र ९ मा विदेशबाट फर्किएका ३० जनाको पहिचान गरी स्वास्थ्य परीक्षण गरेको छ भने विदेशबाट फर्किएका अन्य वडाको पनि खोजी एवं लगत संकलन शुरु गरेको छ । विदेशबाट फर्किएकालाई स्वास्थ्य निगरानीमा राखिएको छ ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा चार भेन्टिलेटरसहित कोरोना संक्रमित मात्रै बोक्नका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । मध्यपुरथिमिका मात्रै नभई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा शय्या अभाव भएमा यहाँ उपचारमा गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । संक्रमितको उपचारमा खटिने चिकित्सकको टोलीका लागि अवश्यक पिपिइ सेट सहित सबै सामग्री तयार छ ।

“कोरोना संक्रमितको उपचारका लागि हामी तयारी अवस्थामा छौँ, हाम्रो अस्पतालमा अहिले चार वटा भेण्टिलेटर सहित आइसियु तयारी छ, दुईवटा भेण्टिलेटर थप्ने तयारीमा छौँ”, नगर प्रमुख श्रेष्ठले भने, “चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली २४ सै घण्टा तयारी अवस्थामा राखेका छौं, अस्पतालको नयाँ ब्लक र भवनमा तत्काल १६ शय्याको आइसोलेशन वार्ड तयार छ, एउटा गेष्टहाउसलाई क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखेका छौँ ।” आवश्यकता पर्दा आइसोलेशन वार्डलाई ४० शय्यासम्म पु¥याउने गरी तयारी गरिएको छ ।

अस्पताल नजीकैको गेष्ट हाउसलाई बिरामीको उपचारमा २४ सै घण्टा खटिन चिकित्सकसहितको टोलीका लागि आवासीय व्यव्स्था गरिएको जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले गेष्ट हाउसमै क्वारेन्टाइनको समेत व्यवस्था गरिएको बताए । उनले गेष्ट हाउस र बोडेको कृषि विकास बैंकको तालिम भवनमा ७० जना क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको जानकारी दिँदै आवश्यक परे यसलाई थप्दै जाने बताए ।

प्रत्येक वडाको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । अस्पतालले नयाँ सञ्चालनमा ल्याएको ल्याबमा कोरोनासंँग मिल्दोजुल्दो लक्षणको परीक्षण शुरु गरेको छ । स्वाब परीक्षण र संक्रमितको पहिचानका लागि भने टेकु अस्पतालमै पठाउने गरिएको छ । नगरपालिकाले भाइरस निर्मलीकरण स्प्रे छर्न पनि शुरु गरेको छ । बाहाखा बजारसहित भित्री बस्तीमा स्प्रे छरिएको छ भने आवश्यकता र मागअनुसार आज अन्य क्षेत्रमा पनि स्प्रे छरिने छ ।

खाद्यान्न अभाव हुन नदिइने

नगरपालिकाले मध्यपुरथिमि क्षेत्रमा खाद्यान्नको अभाव र भोकमरी हुन नदिने भएको छ । खाद्यान्नको अभाव भए खाद्य भण्डारमार्फत बिक्रीवितरणको व्यवस्था मिलाइने छ । केही परिमाणमा अत्यावश्यक खाद्यान्न नगरपालिकाले भण्डार गरी वडा कार्यालयमार्फत वितरणको व्यवस्था गर्ने तयारी छ ।

नगरप्रमुख श्रेष्ठले भने, “मध्यपुरथिमिमा अत्यावश्यक खाद्यान्नको अभाव हुन दिने छैनौँ, आर्थिक अवस्था न्यून भएका र दैनिक ज्यालादारीमा बाँच्नुपर्नेहरुका हकमा कतिपय स्थानीय साथीहरुले हामी व्यवस्था गर्छाै भन्नुभएको छ । नगरपालिकाले पनि गरीब, मजदूरहरुको पहिचान गरी भोकै बस्नुपर्ने अवस्था आएमा प्रत्येक वडा कार्यालयमार्फत खाद्यान्न वितरण गर्ने व्यवस्था गरेका छौँ ।”
उनलेकोरोना भाइरसको महामारीदेखि नआत्तिन, घरभित्रै सुरक्षित रुपमा रहन र समस्या परेमा नगरपालिका तथा जनप्रतिनिधिलाई जानकारी गराउनसमेत नगरवासीलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया