शुक्रबार, चैत ७, २०८१

कोभिड—१९ः कर्मचारीलाई प्रोत्साहन भत्ता

नेपालखोज २०७६ चैत १७ गते १०:०४

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

Advertisement

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनका अनुसार कोरोना भाइरस सङ्क्रमण नियन्त्रणको क्रममा जोखिम मोलेर सेवामा खटिएका कर्मचारीलाई तलव स्केलको २० प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको छ ।

“गाउँपालिकामा बसोबास गर्ने अति विपन्न नागरिकको वडा वडाबाट लगत सङ्कलन गरिने र समस्यामा परेका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने योजना छ”, उनले भने ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिका—१ स्थित ग्राम्य माविमा २० श्ययाको क्वारेन्टाइन कक्ष निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी निस्दी गाउँपालिकाले पनि कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको ज्यान गएमा रु दश लाख क्षतिपूर्ति उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए ।

विदेशबाट घर फर्केका नागरिकको तथ्याङ्क सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । गौरी शङ्कर माध्यमिक विद्यालयमा १२ श्ययाको क्वारेन्टाइन कक्ष बनाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया