बिहीबार, असार १९, २०८२

कोरोना कहर : चन्द्रागिरिले विद्यार्थी र मजदुरलाई घर पु¥याइदिने

नेपालखोज २०७६ चैत १८ गते ८:१७

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदुरलाई घर नजिकको राजमार्गसम्म पु¥याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदुरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो ।

चन्द्रागिरिका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी गर्ने मजदुर तथा विद्यार्थीलाई घर नजिकको गन्तव्यस्थल राजमार्गसम्म पु¥याउने निर्णय गरिएको जानकारी दिए । “लकडाउनको समयमा कोठामा बस्न समस्या भएका विद्यार्थी र मजदुरका लागि घर नजिकको राजमार्गसम्म लैजानका लागि गाडीको व्यवस्था नगरपालिकाले मिलाउँछ”, उनले भने । चन्द्रागिरिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको राजमार्गसम्म पु¥याउने व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

चन्द्रागिरिले घर जान मन गरेका विद्यार्थी तथा मजदुरलाई वडामा नामथर, हाल बसोबास गरेको ठेगाना, कार्यरत रहेको संस्था वा कार्यालयको नाम, बाहिर जान लागेको गन्तव्यस्थलको ठेगाना र सम्पर्क नम्बर टिपाउन अनुरोधसमेत गरेको छ । नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) हस्तान्तरण गरिएको छ । नगर प्रमुख घनश्याम गिरीले कोरोना रोगको सम्भावित सङ्क्रमणबाट जोगिन चन्द्रागिरिभित्र रहेका स्वास्थ्य सङ्घसंस्थालाई पिपीइ हस्तान्तरण गरिएको जानकारी दिए । “सबै स्वास्थ्यकर्मीलाई पुग्ने गरी पिपीइ नभएकाले शुरुको अवस्थामा सबै स्वास्थ्य संस्थालाई पुग्ने गरी पिपीइ वितरण गरेका छौँ, बाँकी विस्तारै थप्दै जान्छौँ”, उनले भने ।

काठमाडौँ प्रवेशको मुख्यद्वारका रूपमा रहेको चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड र भित्री सडकखण्डमा किटनाशक औषधिसमेत छरेको छ । नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक र नगरपालिकाका भित्री सडकमा ‘हाइड्रो क्लोराइड’ नामक किटनाशक औषधि छरेको हो ।

प्रतिक्रिया