सोमबार, माघ २८, २०८१

टोखा नगरपालिकाले तयार ग¥यो राहत सङ्कलन सम्बन्धि यस्तो मापदण्ड

नेपालखोज २०७६ चैत १८ गते १६:१३

काठमाडौँ । टोखा नगरपालिकाले राहत सङ्कलन मापदण्ड तयार गरेको छ । टोखाको विपद् व्यवस्थापन समितिको बैठकले राहत सङ्कलन तथा वितरणका लागि मापदण्ड तयार गरेको हो । कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर नगरपालिकाका प्रमुखले संयोजन गर्ने गरी नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो ।

Advertisement

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नेपाल, प्रदेश र स्थानीय सरकारले परिभाषित गरेको कार्यविधिलाई एकीकृत गरेर त्यसका आधारमा समिति गठन गरिएको जानकारी दिए । “ मापदण्डका आधारमा सङ्कलन भएको राहत नगरपालिकाको संयोजनमा गरिब, निमुखा र विपन्न परिवारलाई वितरण गरिने व्यवस्था मिलाएका छौँ,” उनले भने ।

टोखाले तत्कालका लागि भैपरी आउने सम्भावित घटनालाई दृष्टिगत गर्दै प्रत्येक वडामा रु एक लाख रकम पठाउने निर्णय गरेको छ । प्रत्येक वडाबाट राहत वितरण गर्नेगरी मापदण्ड निर्माण गरिएको नगरप्रमुख अधिकारीको भनाइ छ ।

नगरपालिकाले राहत वितरणका लागि प्रत्येक वडामा ‘वडा स्वयम्सेवक दल’ गठन गर्ने भएको छ । आफ्नो वडाका व्यक्तिलाई घरबाट बाहिर ननिस्कन र राहत वितरणलाई प्रभावकारी बनाउन वडा स्वयम्सेवक दल निर्माण गर्न लागिएको हो । नगरपालिकाभित्र रहेर खान नपाएका गरिब, निमुखा तथा विपन्न परिवारलाई बिहान ५ देखि ८ बजेसम्म राहत वितरण गर्न लागिएको नगरप्रमुख अधिकारीले बताए । राहत मापदण्डअनुसार कुपन बनाएर कुपनअनुसार राहत वितरण गर्ने तयारी भएको छ । सो नगरपालिकामा ११ वडा छन् ।

प्रतिक्रिया