कोरोना : ग्राण्डी अस्पतालले तयार ग¥यो ३० श्ययाको क्वारेन्टाइन
काठमाडौँ । टोखा नगरपालिकाले विदेशबाट भर्खरै नेपाल आएका व्यक्तिको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । विशेषत विदेशबाट आउने व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको सम्भावना धेरै हुने भएपछि विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।
हालसम्म विदेशबाट आउने ६ जनालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले जानकारी दिइन् । “तिलिङ्गाटार माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा विदेशबाट आएका ६ जनालाई राखेका छौँ”, उनले भनिन् । टोखाले हाल आफ्नो नगरपालिकाभित्र ३८ श्ययाको क्वारेन्टाइनस्थल निर्माण गरिसकेको छ । नगरपालिकाले तिलिङ्गाटार माविमा २५, टोखा प्राथमिक स्वास्थ्य केन्द्र टोखा बजारमा १० र झोर स्वास्थ्य चौकीमा तीन श्ययाको क्वारेन्टाइन निर्माण गरेको हो ।
नगरपालिकाभित्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालनमा छ । उक्त अस्पतालले ३० श्ययाको क्वारेन्टाइन निर्माण गरिसकेको अस्पतालका अध्यक्ष दीपक कुँवरले जानकारी दिए । टोखाले गम्भीर प्रकारको ज्वरो आए उक्त बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउँदै आएको छ ।
नगरपालिकाभित्रका २० स्थानमा हात धुनका लागि पानीका धारा जडान गरिएको छ । नगरपालिकाका सबै चोकमा पानीका धारा जडान गरिएको हो । नगरपालिकाका प्रमुख अधिकारीले सरकारले नै कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चैत २५ गतेसम्म लकडाउन घोषणा गरेकाले लक डाउनको समयमा कोही पनि घरबाट बाहिर ननिस्कन आग्रहसमेत गरे ।
प्रतिक्रिया