दुर्गममा हेलिकप्टरबाट औषधि
सर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका दुर्गम जिल्लामा हेलिकप्टरमार्फत औषधि ढुवानी गर्न थालेको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हुम्ला, डोल्पा र मुगुमा हेलिकप्टरबाट औषधि पठाइएको हो।
यातायात सुविधा नपुगेका जिल्लामा औषधि ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी (जोशी्)ले बताइन्। यायातात सुविधा रहेका जिल्लामा भने गाडीबाट औषधि ढुवानी हुने उनले जानकारी दिइन्। कर्णालीका कुनै जिल्लामा औषधि अभाव नभएको तर पूर्वतयारी स्वरुप हरेक औषधि मौज्दात गर्न लागिएकोे भण्डारीको भनाइ छ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सबै जिल्लामा सर्जिकल मास्क, पीपीई, लुज ग्लोव्स, एननाइन्टी, पारा सिटामोल, साधारण मास्क, गाउन, ब्रोसर, सेनिटाइजर, क्यानुला, क्लोरोक्वीन जस्ता औषधि र उपकरण पठाइदैछ। मंगलबार हेलिकप्टरबाट डोल्पा आएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक बिकास मन्त्री दलबहादुर रावलले औषधि र अन्य उपकरण जिल्ला अस्पताललाई हस्तान्तरण गरे। यो समाचार आजको अन्नपूर्णपोष्ट् दैनिकमा छ ।
प्रतिक्रिया