आइतबार, माघ २७, २०८१

स्वास्थ्य सामग्री खरिद सम्झौता किन रद्द भयो ?

नेपालखोज २०७६ चैत २० गते १४:०९

काठमाण्डौ । कोरोना संक्रमण परिक्षणका लागि चीनबाट ल्याएको किटको गुणस्तरीयतामाथि प्रयोगशालाका प्राविधिक तथा चिकित्सकहरुले प्रश्न उठाएपछि सरकारले स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गरेको छ ।

Advertisement

चीनबाट नेपाल ल्याइएको स्वास्थ्य सामग्रीको गुणस्तरितामाथि प्रश्न उठ्नुको साथै खरिद प्रक्रिया समेत अनियमितता भएका भनी सर्वत्र आलोचना भएपछि सरकारले यो निर्णय गरेको छ ।

चीनबाट ल्याएका किटलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता नदिएकाले परीक्षण गर्न नसकिने प्रयोगशालाका प्राविधिकहरुले बताएका छन् । ‘कोभिड–१९ परीक्षण गर्ने किटहरू भर्खर बजारमा आएका छन् । कुनै अनुसन्धान भएको छैन् । डब्ल्युएचओले मान्यता नै नदिएका यस्ता किट हामी प्रयोग गर्न नसकिने उनीहरुको बुझाइ छ ।

त्यसो त डब्ल्युएचओको मापदण्डअनुसार नभएको र प्रयोगशालाको सल्लाहअनुसार ती किट प्रयोग नगर्ने निष्कर्षमा सरकार पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । उनले डब्ल्युएचओ र प्रयोशशालाले समेत प्रयोग गर्नुहुँदैन भनेपछि त्यहीअनुसार निर्णय भएको जानकारी दिएका छन् ।

यता,कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) पनि अपूरो आएको भन्दै चिकित्सकहरुले यसलाई प्रयोग नगर्ने बताएका छन् । टोपी, चस्मा, गाउन, पन्जा, सुज लगाएको सेट मिलेर पिपिई बन्छ । तर, सरकारले किनेको पिपिईको सेटमा कतै चस्मा छैन, कतै सुज छैन, कतै गाउन नै नभएको भन्दै उनीहरुले यस्तो सामग्रीको प्रयोग गर्न नसकिने बताएका हुन् ।

सरकारले यस अघि गरेको सम्झौता रद्द गरेको छ । सरकारले जानाजान इमर्जेन्सी खडा गरेर ओम्नीलाई सीधै ठेक्का दिएको आरोप एकातिर लागेको छ भने शुक्रबार ठेक्का दिएको सरकारले शनिबार जहाज चीन पठाएर आइतबार सामान काठमाडौं झारेको थियो । तर, गुणस्तरहीन सामान अपारदर्शी ढंगले महँगोमा किनेको भन्दै विरोध भएपछि सरकार पछि हटेको छ । सरकारले अब फेरि खरिद प्रक्रिया अघि बढाउने भएको छ । नियमसंगत प्रक्रिया गरेर नयाँ सामान ल्याउन अब करिब दुई साता लाग्नेछ ।

यस बिषयमा कोरोना संक्रमण नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले स्वास्थ्य सेवा विभागले गरेको सम्झौता उसले नै भंग गरेको भन्दै आफू उक्त जिम्मेवारीबाट पन्छिन खोजेका छन् । उनले आफूले गर्नसक्ने गरिरहेको हुनाले सम्झौता रद्द गर्नुको मूल जिम्मेवारी स्वास्थ्य सेवा विभागले लिनुपर्ने धारणा राखेका छन् ।

त्यसो त, कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध विवेकशील नेपाल दलका तर्फबाट अख्तियारमा उजूरी परेको छ । उजुरीमा बजारभाउभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएकाले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया