आइतबार, वैशाख ३०, २०८१

अत्यावश्यक वस्तुको मौज्दात सङ्कलन शुरु

नेपालखोज २०७६ चैत २१ गते १५:२२

तनहुँ । तनहुँ जिल्लामा दैनिक उपभोग्य वस्तु तथा आवश्यक स्वास्थ्य सामग्रीको मौज्दात सङ्कलन शुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तह, जिल्ला स्तर र अस्पतालमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा स्वास्थ्य सामग्रीको मौज्दात र मागको विवरण सङ्कलन शुरु गरिएको हो ।

जिल्लाका विभिन्न स्थानीय तहको समन्वयमा उद्योग वाणिज्य सङ्घले सङ्कलन गर्ने उक्त विवरण चैत २३ गतेभित्र गण्डकी प्रदेश स्तरीय आपूर्ति समन्वय समिति र गृह मन्त्रालयमा पठाइने प्रमुख जिल्ला अधिकारी एवम् नोभल कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए ।

राहत सामग्री वितरण सम्बन्धी कार्यविधि बनाई आवश्यक उपभोग्य सामग्री न्यायोचित र पारदर्शी हुने गरी वितरण गर्न स्थानीय तहलाई अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त कार्यको अनुगमन जिल्लास्तरीय आपूर्ति समितिले गर्नेछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय आपूर्ति अनुगमन समिति गठन भएको छ । समितका सदस्यमा जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, उप अनुसन्धान निर्देशक, कालीभञ्जन गणका सेनानी तथा उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, नेपाल चेम्बर अफ कमर्श र तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया