कोरोना : भारतसँग विशेष सम्बन्ध रहेको प्रदेश २ को यस्तो छ ताजा अवस्था
धनुषा । कोरोना भाइरस (कोभिड —१९ ) सम्भावित जोखिम हुन नदिन प्रदेश नं २ को आठ जिल्लामा एक हजार १४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले आज दिएको जानकारी अुनसार ३७१ जना होम क्वारेन्टाइनमा रहेका मध्ये ४६ लाई क्वारेन्टाइनमा पठाइएको छ ।
धनुषामा पाँच तथा पर्सामा दुई गरी सात जना आइसोलेशनमा रहेको बताइएको छ । प्रदेशमा हालसम्म एकजनामा पनि सो भाइरसको पोजेटिभ देखिएको छैन ।
सप्तरी ०सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशङकामा पहिलो पटक नौ जनाको स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
भारतको विभिन्न राज्यबाट इस्लाम धर्मालम्बीहरुको तब्लिगी जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ जना र फ्रान्सबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका एक जना गरी कूल नौ जनाको स्वाब परीक्षणका लागि सो प्रतिष्ठानमा पठाइएको हो ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वाब सङ्कलन गरी उनीहरुलाई पुनः क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । परीक्षणका लागि स्वाब सङ्कलन गरेका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले नौ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
स्वाब रिपोर्ट आएपछि थप स्पष्ट हुने भन्दै अस्पतालले स्वाब रिपोर्ट आउन दुई÷तीन दिन लाग्ने जनाएको छ । भारत बिहारको अररिया जिल्लाबाट आएका आठ जनालाई राजविराज नगरपालिका–४ स्थित इस्लाम मियाँको घरमा तथा फ्रान्सबाट आएका एक जनालाई राजविराज नगरपालिका–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
प्रतिक्रिया