लकडाउन प्रभाव : तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा
भद्रपुर । कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ । “बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु ?”, फार्मका सञ्चालक मनोज सिंह चिन्तित हुँदै भन्छन् ।
स्थानीय बोलीचालीमा अनारस भनिने भुइँकटहर स्वास्थ्य र स्वाद दुवै दृष्टिले राम्रो मानिन्छ । तीन बिघा लिजको समेत पाँच बिघा जग्गामा सिंहले विगत चार वर्षदेखि भुइँकटहरको व्यावसायिक खेती गर्दै आएका छन । फार्ममा उत्पादित भुइँकटहर यसअघि काठमाडौँको कालीमाटी तरकारी बजारमा लगेर बिक्री गरिँदै आएको थियो । अहिले लकडाउनका कारण कालीमाटी बजार बन्द हुनु र अन्यत्रसमेत बिक्री नभएपछि ठूलो लगानीमा गरिएको उत्पादन कुहिएर बोटमै खेर जाने अवस्था आएको सञ्चालक सिंहले बताए ।
हाल उनको खेतीमा ८० हजार बोटमा फल लागेको छ भने ३० हजार फल पाकिसकेका छन् । बाँकी ५० हजार बोटमा जेठमा पाक्ने गरी चिचिला हुर्किरहेका छन् । चैत वैशाखमा रसिलो र गुलियो भुइँकटहरले बजारमा राम्रो भाउ पाउने गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गरिएको लकडाउनले बजार ठप्प भएका छन् ।
सिंहले भुइँकटहर खेतीका लागि राष्ट्रिय वाणिज्य बैंकबाट रु १८ लाख र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच लाख कर्जा लिएको बताए । “उत्पादन बजारमा बिक्री गर्ने ‘पिक सिजन’मा लकडाउनले चौपट ग¥यो, यसपाली भुइँकटहर खेतीमा रु २२ लाख जति घाटा होला जस्तो छ”, उनि भन्छन् । यस वर्षको चैत वैशाखमा भुइँकटहर प्रतिगोटा स्थानीय बजारमा रु ५० देखि रु ६० सम्म र काठमाडौँमा रु ७० सम्ममा बिक्री हुने उनको अपेक्षा थियो । तर अहिले फार्ममा आउने जोकोहीलाई उनले ठूलो घाटा सहेर प्रति गोटा रु २५ मै बिक्री गरिरहेको जानकारी दिए । फार्ममै आएर फाट्टफुट्ट किन्ने थोरै रहेका छन् ।
प्रतिक्रिया