औँठी–आइफोन हातमाः राहतको लाममा
भक्तपुर । लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ ।
हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको पहिलो चरणको राहत वितरण सम्पन्न गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । नगरपालिकाभित्र सात हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिँदै उनले भने, “हामीले आजदेखि सबै वडामा राहत वितरण सम्पन्न ग¥यौँ, तर राहत लिन अधिकांश बाहिर जिल्लाबाट यहाँ आएर भाडामा बस्नेहरु छन्, राहत लिने आधाजति त हुनेखाने नै छन्, हातमा आइफोन लिएर, सुनका सिक्री औँठी लाएकाहरु गरिब, मजदुरलाई दिने राहत थाप्न आएको देखियो ।”
भूकम्पमा बरु पीडितको पहिचान भएर सजिलो भएको तर अहिले मजदुर र गरिबको पहिचान गर्न नसक्दा तीन हजार ५०० घरपरिवारलाई दिने भनेको राहत सात हजार परिवारलाई दिनुपरेको बताउँदै उनले सरकारी जागिरे भएकादेखि विदेशमा बस्नेहरुका परिवारसमेत राहत लिन आएको बताए ।
प्रतिक्रिया