शनिबार, फागुन ३, २०८१

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु – नवनियुक्त गभर्नर

नेपालखोज २०७६ चैत २५ गते १५:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गरेका हुनर ।

Advertisement

नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलगायतका उच्चपदस्थ कर्मचारी बैंक परिसरमा उपस्थित थिए । । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।

विसं २०७३ मा डेपुटी गभर्नरबाट अवकाश हुनु भएका अधिकारी पछिल्लो चार वर्षदेखि बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । ‘गोरखा भूकम्प’को समयमा समस्यामा परेको मुलुकको आर्थिक तथा बैंकिङ क्षेत्रमा तत्कालीन गभर्नर चिरञ्जीवी नेपालसँग करिब आठ महिना डेपुटी गभर्नर भएर काम गरेका अधिकारीले संसारलाई नै समस्यामा पारेको कोरोना भाइरसबाट नेपालको वित्तीय क्षेत्रलाई जोगाउने जिम्मेवारी पाएका छन् ।

पदवाहाली लगत्तै उहाँले गर्नुभएको पहिलो नीतिगत निर्णय पनि सोही सेरोफेरोमा नै केन्द्रीत रहेको छ । कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न उनले कार्यदल नै गठन गरेका छन् । कार्यदलमा रहने सदस्यका बारेमा भने केन्द्रीय बैंकले केही बताएको छैन ।

पदवाहालीपछि उनले भने, “आज मात्रै पहिलो नीतिगत निर्णयको रुपमा कोरोनाको असर अध्ययन गर्न कार्यदल बनाउने तथा नियमित अनुगमन गर्ने निर्णय भएको छ । त्यसले समग्र अर्थतन्त्रको अवस्थामा कस्तो प्रभाव पर्छ भनेर अध्ययन प्रतिवेदन तयार पारेर कार्यान्वयनका लागि सुझाउनेछ ।”यसअघि नै राष्ट्र बैंकले केही राहतका कार्यक्रम ल्याइसकेको छ । त्यसलाई निरन्तरता दिँदै समग्र क्षेत्रमा असर कस्तो पर्छ भन्नेतर्फ विशेष चासोका साथ काम गरिने उनको भनाइ छ ।

निजी क्षेत्रसँग असाध्यै नजिक रहेर काम गरेर आएको जानकारी दिँदै उहाँले आफू निजी क्षेत्र मैत्री भएर नै काम गर्ने प्रतिबद्धता जनाए। केन्द्रीय बैंकले यसअघि अगाडि बढाएका राम्रा नीति तथा कार्यक्रमलाई अगाडि बढाउने उनको थप प्रष्टोक्ति थियो । कोरोनाका कारण अहिले सबै क्षेत्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले विगतमा अर्थतन्त्रको एउटा क्षेत्रमा समस्या आउँदा अर्को क्षेत्रले सहयोग गर्ने स्थिती रहेपनि हाल त्यस्तो नभएकाले सोची विचारी नै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया