नेपलमा दैनिक ३ हजार जनाको कोरोना भाइरस परीक्षण सम्भव
काठमाडौं । सरकारले दैनिक ३ हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वाब नमुना संकलनलाई तीव्रता दिने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र रहेको भाइरस परीक्षण सेवालाई तीन हप्ताको अवधिमा सरकारले देशका विभिन्न ११ स्थानमा विस्तार गरिसकेको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराम खनालका अनुसार आवश्यक परेको अवस्थामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालालाई प्रयोगमा ल्याउन सकिन्छ । जसको पहिचानसमेत भइसकेको छ ।
मुलुकमा आरटी–पीसीआर अर्थात् रियल टाइम–पोलिमरेज चेन रियाक्सन परीक्षण गर्न सकिने ४० ल्याब छन् । जसमा निजी क्षेत्रका १५ र अन्य सरकारी स्वामित्वमा रहेका छन् ।
आवश्यक भएमा दैनिक छ हजार आरटी–पीसीआर परीक्षण गर्न सकिने क्षमता विस्तार गरिने रजिस्ट्रार खनालले जानकारी दिए ।
उनले कोभिड प्याथोलोजी सल्लाहकार समितिले ल्याब स्थापना, प्रयोगशाला निर्माण, जनशक्ति व्यवस्थापन र उपकरणको गुणस्तर जाँचजस्ता कार्यलाई द्रुत गतिमा सम्पन्न गरी प्रयोगशाला सञ्चालनमा आएको बताउनुभयो ।
उनले प्रयोगशालालाई २४ सै घण्टा चलाउन २० जनाजति जनशक्ति आवश्यक पर्ने बताए । एउटा स्वाब नमुना सङ्कलन र परीक्षणका लागि कम्तीमा १२ हजार रुपियाँ खर्च हुने तर त्यो सम्पूर्ण खर्च सरकारले व्यहोरिरहेको उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया