बिहीबार, वैशाख १३, २०८१

नेकपा सांसद बस्नेतको आग्रह, ‘धमिलो पानीमा माछा नमारौं, यो परिस्थितिमा सबै एकजुट हौं’

नेपालखोज २०७६ चैत २७ गते १५:५०
  • यो समय सबै एकजुट हुने बेला हो ।
  • यो बेलामा नैराश्यता फैलाउने काम हुनु दुःखद् ।
  • कसैको निहित स्वार्थलाई सरकारले संरक्षण गर्नुहुँदैन ।
  • नेतृत्वमा रहेकाहरुले यो बेला झनै संवेदनशील हुनु जरुरी छ ।

– महेश बस्नेत
पूर्वमन्त्री एवं सदस्य प्रतिनिधि सभा

काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा पनि त्रास सिर्जना गरिरहेका बेला सबै नेपाली एकजुट हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले बताएका छन् ।

नेपाल खोजसँग विशेष कुराकानी गर्दै बस्नेतले मुलकले अहिले राष्ट्रिय विपद्को सामना गरिरहेका बेला सबै नेपालीहरु एकजुट हुनुपर्नेमा केही राजनीतिक दलका नेताहरुले जनतामा नैराश्यता फैलाउने गरी आफ्नो अभिव्यक्ति दिन थालेकोमा आपत्ति जनाएका छन् ।

उनले भने, ‘यो समय भनेको धमिलो पानीमा माछा मार्ने होइन, मुलुकमा विद्यमान राष्ट्रिय विपदको बेला सबै एक ठाउँमा हुनुपर्नेमा केही राजनीतिक दलका नेता तथा बौद्धिक वर्गको प्रतिनिधित्व गर्ने समुदायले समेत सरकारका विरुद्धमा नकारात्मक सन्देश दिन थालेका छन् । जुन कुनैपनि हालतमा स्वीकार्य हुन सक्दैन ।’

अहिलेको जटिल परिस्थितिमा अत्यावश्यक सामग्रीको अभाव सिर्जना गरी बजारमा कालो बजारी गर्ने तत्वहरु हावी हुन थालेकामा चिन्ता व्यक्त गर्दै सांसद बस्नेतले यस्ता बदनियतपूर्ण सोच र चिन्तन भएकाहरुलाई सरकारले हदैसम्म कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘केही निहित स्वार्थ बोकेका व्यवसायीहरु बजारमा सस्तो मूल्यमा पाइने सामग्रीहरुलाई संकटको यो घडीको कृत्रिम अभाव सिर्जना गरी फाइदा उठाउँदै बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । यस्ता गतिविधिलाई तत्काल नियन्त्रण गर्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि सारेको पहललाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनु पर्दछ ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याइएको आवश्यक स्वास्थ्य सामग्रीका बिषयलाई विवादको चूरो बनाउनु भन्दापनि तत्काल आवश्यक सामग्रीलाई कसरी जुटाउन सकिन्छ त्यतातर्फ सरकारले ध्यान दिनुपर्ने सांसद बस्नेतले बताए । उनले चीनबाट नेपालमा ल्याइएको स्वास्थ्य सामग्रीलाई अत्यन्तै छिटो र अभावका बेलामा केही महंगो हुनुलाई अस्वभाविक मान्न नसकिएतापनि प्रक्रियागत रुपमा नै पारदर्शिताको अभाव हुनु दुःखपूर्ण रहेको बताए ।

उनले भने, ‘चीनबाट स्वास्थ्य सामग्री नेपाल ल्याउने क्रममा प्रक्रियागत रुपमा पारदर्शिताको अभाव देखियो जुन दुःखपूर्ण छ । कतिपय व्यापारिक समूहसँगको सम्बन्ध एवं प्रधानमन्त्री सचिवालयका सदस्यहरुको खरो अभिव्यक्ति र व्यवहारका कारण पनि आम नागरिकमा यसप्रति संशय पैदा हुनुपुग्यो ।’

बस्नेतले पछिल्लोपटक सरकारमा रहेकाहरुको बोली र व्यवहार अत्यन्तै खरो भएकाले पनि सरकारप्रति जनतामा नैराश्यता फैलिएको बताए । अहिले सरकारका प्रवक्ता फेरिएसँगै जनतामा विद्यमान पुरानो नकारात्मक छविमा केही सकारात्मक परिवर्तन हुँदै आएको बस्नेतले बताए ।

संक्रमणको बेला र यसपछि पनि मुलुकको समृद्धिको आधार विकास निर्माण र उत्पादनमूलक कार्यलाई अगाडि बढाउनको निम्ति सरकारले विशेष योजना बनाउनुपर्नेमा सांसद बस्नेतले जोड दिए ।

अहिलेको जटिल परिस्थितिमा सुरक्षाकर्मीहरुको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सांसद बस्नेतले विशेषज्ञता प्राप्त गरेका स्वास्थ्यकर्मी बाहेक आम स्वास्थ्यकर्मीहरुको बुझाइ र गराइ सन्तोषजनक हुन नसकेको बताए । उनले भने, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीहरुले यस बिषयमा गम्भीरतापूर्वक लाग्नुपर्दथ्यो, तर यसमा उहाँहरुको भूमिका खासै सन्तोषप्रद देखिएन, यसमा सम्बन्धित मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ।’

प्रतिक्रिया