शुक्रबार, वैशाख १४, २०८१

कोरोना : अमेरिकामा २४ घण्टा भित्रै २ हजारभन्दा बढी मानिसको मृत्यु, यस्तो छ अन्य देशको ताजा अवस्था

नेपालखोज २०७६ चैत २९ गते १९:२५

काठमाडौँ । कोरोनाभाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको छ ।

अमेरिकामा कोभिड–१९ को सङ्क्रमणबाट १८ हजार ५८६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या इटलीको नजिक पुगेको छ ।
इटलीमा शनिबारसम्म १८ हजार ८४९ व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणका कारण बढी व्यक्तिको मृत्यु हुने अन्य मुलुकमा स्पेन -१६ हजार ३५३, फ्रान्स -१३ हजार १९७, बेलायत -आठ हजार ९५८, इरान -चार हजार २३२, बेल्जियम – तीन हजार ३४६, चीन -तीन हजार ३३९ जर्मनी -दुई हजार ७३६ र नेदरल्याण्डमा – दुई हजार ५११ रहेका छन् ।

सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी अमेरिका -पाँच लाख तीन हजार १७७, स्पेन -एक लाख ६१ हजार ८५२, इटली -एक लाख ४७ हजार ५७७, फ्रान्स -एक लाख २४ हजार ८६९,   जर्मनी – एक लाख २२ हजार १७१, चीन – ८१ हजार ९५३,  बेलायत -७३ हजार ७५८, इरान – ६८ हजार १९२, टर्की -४७ हजार २९ र बेल्जियममा – २८ हजार १८०रहेको छ । इटली र स्पेनमा पछिल्ला केही दिनदेखि सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या क्रमशः घट्दो रफ्तारमा देखिएको छ ।

नेपाली समय अनुसार शनिबार साँझसम्ममा विश्वभर १७ लाख १० हजार ५८१ सङ्क्रमित भएका छन् भने एक लाख तीन हजार ५१२ को मृत्यु भइसकेको छ । त्यस्तै तीन लाख ८२ हजार ५३ जना निको भएर घर फर्किएका छन् । विश्वभरि ४९ हजार ९१३ जनाले अझै जटिल सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार निको भएर घर फर्किनेको सङ्ख्या चीनमा सबैभन्दा बढी ९७७ हजार ५२५० रहेको छ । चीनले आन्तरिक सङ्क्रमण रोकिएको भन्दै लामो समयदेखि बन्द रहेको व्यवसायिक कामकाजलाई सावधानीका साथ सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

अमेरिका, इटली र फ्रान्समा निको भएर घर फर्किनेको सङ्ख्या न्यून रहेको छ तर चीन, स्पेन र जर्मनीमा निको भएर घर फर्किनेको सङ्ख्या अमेरिका इटली र फ्रान्समाभन्दा तुलनात्मक रूपमा केही बढी रहेको छ ।

प्रतिक्रिया