आइतबार, माघ १५, २०७९

क्वारेन्टाइनमा बस्दै आएका घर फर्कन शुरु

नेपालखोज २०७७ वैशाख ३ गते ९:२४

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा क्वारेन्टाइनमा बस्दै आएका आठ मजदुर घर फर्किएका छन् । वडा नं १ कुलुङको सिंहमालिका माध्यमिक विद्यालयमा बस्दै आएका उनीहरू १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् ।

चौध दिनको समयावधि पूरा भएपछि स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि उनीहरू घर फर्किएका हुन् । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोमा काम गर्दै आएका ती मजदुर सरकारले दोस्रो पटक लकडाउन घोषणा गरेपछि गत चैत १७ गते भोजपुर आएका थिए ।

भोजपुर आएका उनीहरुलाई स्थानीयवासीले देखी वडा र प्रहरीलाई खबर गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेकाहरुलाई खानाको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिए ।

यसैबीच रामप्रसादराई गाउँपालिका–४ दलगाउँको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बस्दै आएका एक युवा पनि क्वारेन्टाइन पछि घर फर्किएका छन् । उनी गत चैत ५ गते दुबईबाट आएका थिए । हालसम्म भोजपुरमा ३४ जना क्वारेन्टाइनमा र ९० जना होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया