बुधबार, वैशाख १२, २०८१

मनोमानीरूपमा यात्रु ओसार्दै गाउँपालिकाको एम्बुलेन्स

नेपालखोज २०७७ वैशाख ४ गते ९:४४

बाजुरा । देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नंको एम्बुलेन्समा छ यात्रु बोकेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

नेपालगञ्जबाट बाजुराका लागि एक प्यारालाइसिस भएका बिरामी राखेर यात्रु ओसारिरहेको अवस्थामा सदरमुकाम मार्तडीमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । नेपालगञ्ज, सुर्खेत, अछाम हुँदै बाजुरा पुगेको उक्त एम्बुलेन्समा छ जना सबै सो गाउँपालिकाका स्थानीयवासी रहेको प्रहरी प्रमुख भट्टराईको भनाइ छ । एम्बुलेन्समा बिरामीको अवस्था हेरेर बढीमा दुई कुरुवा ल्याउन पाउने व्यवस्था भए पनि नियमविपरीत एम्बुलेन्समा यात्रु बोक्नु गलत भएकाले मुद्दा चलाउने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेको भनाइ छ ।

सरकारले आवतजावत नै बन्द गरिसकेको बेला एम्बुलेन्समार्फत यात्रु बोक्दा जोखिम हुनसक्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले भने एम्बुलेन्समा तीन बिरामी आएको र तीन जना सम्बन्धित बिरामीका कुरुवा रहेको बताएका छन् । तर प्रहरीले भने एम्बुलेन्समा एक जना मात्र बिरामी भेटिएको बताएको छ ।

अहिले एम्बुलेन्स प्रहरी नियन्त्रण छ भने आएका यात्रुलाई मार्तडीमा रहेको मालिका माविको क्वारेन्टाइनमा राखिएको छ । लकडाउनकै अवधिमा बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्सले पनि यात्रु ओसारेको अवस्थामा समातिएको थियो । से१च ५२४ नंको एम्बुलेन्समा १० यात्रु बोकेको भेटिएपछि अछाम प्रहरीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सले यात्रु बोक्न थालेपछि रोगको जोखिम बढ्ने पनि देखिएको छ ।

प्रतिक्रिया