मंगलबार, वैशाख ४, २०८१

स्वास्थ्य सामग्रीको अभाव हुन दिन्नौँ : मन्त्री पुन

नेपालखोज २०७७ वैशाख ७ गते १६:४८

म्याग्दी । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना रोकथामको प्रयासलाई प्रभावकारी र सफल बनाउन स्रोत, साधन र शक्तिको उच्चतम परिचालन गरिएको बताएकी छिन्् । बेनीमा आज भएको अभिमुखीकरणमा सहभागी स्वास्थ्यकर्मी र चिकित्सकलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री पुनले उपचार र रोकथामका लागि आवश्यक पर्ने सामग्री, औषधि र उपकरणको अभाव हुन नदिने बताइन् ।

“कोरोना सङ्क्रमितको उपचारमा खटिनेलाई अतिरिक्त सुविधा, बीमाको व्यवस्था गरेका छौँ”, मन्त्री पुनले भनिन्, “पिपिइ, मास्क, स्यानिटाइजर, पञ्जा, चश्मा, भिटीएस, भिएचएम, रिएजेण्टलगायतका सामग्री नभएर स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम हुने अवस्था आउन दिँदैनौँ ।”

बजारमा पर्याप्त सामान नभएको अवस्थामा विद्यमान खरिद ऐनअनुसार सामग्री जुटाउन समस्या परेको उनले बताइन् । खरिद प्रक्रियासँगै सामाजिक सङ्घसंस्था र व्यक्तिबाट सहयोग जुटाएर भए पनि व्यवस्थापन गरिएको बताइन् । सामाजिक दूरी कायम गर्नु र बन्दाबन्दीको पालना गर्नुनै कोरोनाबाट बच्ने अचुक औषधि भएको मन्त्री पुनको भनाइ थियो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका माइक्रोबायोलोजिष्ट धर्मराज भट्टले अनावश्यक काममा पिपिइको प्रयोग नगर्न आग्रह गरेका थिए ।

चिकित्सक बुद्धीसागर लामिछानेले कोरोनाको त्रासका कारण अन्य रोगका बिरामीले उपचार नपाउने अवस्था आउन नदिन सचेत बन्नुपर्ने बताए । डा राम्जी शर्माले पहिचान भएका सङ्क्रमितको सफल उपचार र थप सङ्क्रमण फैलन नदिने रणनीतिअनुसार काम गर्नुपर्ने बताए ।

बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीका साथै कोभिड–१९ कमाण्ड पोष्ट, जनप्रतिनिधि र सुरक्षा अधिकारीलाई कोरोना सङ्क्रमितको पहिचान, उपचार र व्यवस्थापनका साथै सामग्रीको प्रयोगका विषयमा जानकारी गराइएको थियो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विदेशबाट आएका र शङ्कास्पद १३० जनाको द्रुत परीक्षण गर्दा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको बताउनुभयो । सम्भावित जोखिमलाई आँकलन गरेर जिल्लाभर १७५ श्यया क्षमताको क्वारेन्टाइन बनाएको जानकारी दिए ।

उनका अनुसार बेनीमा २० श्यया क्षमताको आइसोलेशन वार्ड स्थापना गर्न लागिएको छ ।

प्रतिक्रिया