बिहीबार, वैशाख १३, २०८१

कोरोनासम्बन्धी बीमा योजना शुरु

नेपालखोज २०७७ वैशाख ७ गते २०:४६

काठमाडौँ । बीमा सेवा प्रदायकहरुको नियमनकारी निकाय बीमा समितिले ल्याएको नयाँ योजनाको आजदेखि कार्यान्वयन शुरु भएको छ । समितिले कोभिड–१९ सम्बन्धी बीमा लेख आजदेखि औपचारिक रुपमा शुरु गरेको हो । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोभिड–१९ रोगसम्बन्धी पहिलो बीमा लेख खरीद गरी औपचारीक शुरुआत गरेका हुन् ।

अध्यक्ष चापागाईंका अनुसार कोरोना भाइरस महामारीका रुपमा आएको र सानो रकमबाट भए पनि सङ्क्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमा लेख जारी गरिएको हो । कोरोना भाइरस सङ्क्रमणपछिको उपचार सरकारले गर्ने भए पनि सङ्क्रमित व्यक्तिको आर्थिक अवस्थालाई ध्यानमा राखेर बीमा लेख जारी गरिएको हो ।

नेपाली नगारिक, परिवार एवम् संस्थाले आफ्ना सदस्यको व्यक्तिगत वा समूहिक बीमा गर्न सक्ने उक्त योजनामा समावेश छ । लकडाउनको अवस्थामा पनि सजिलै ‘पोलिसी’ खरीद गर्न सकिने र त्यसका लागि मेडिकल र वित्तीय ‘अन्डरराइटिङ’को आवश्यकता नपर्ने व्यवस्था रहेकाले इच्छुकले अनलाइनमार्फत पनि सो योजना खरीद गर्न सकिने छ । इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत पनि योजना खरीद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

समितिले बीमालेखलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो बीमालेख रु एक लाख बराबरको छ । सो योजना खरीदका लागि प्रतिव्यक्ति रु एक हजार लाग्नेछ । पारिवार वा संस्थागत रुपमा बीमा गर्ने भए थप रु ६०० लाग्नेछ । दोस्रो योजना रु ५० हजार बराबरको छ । यो योजना खरीदका लागि प्रतिव्यक्ति रु ५०० र पाँच परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामूहिक बीमाका लागि थप प्रतिव्यक्ति रु ३०० लाग्नेछ ।

प्रतिक्रिया