मंगलबार, वैशाख ११, २०८१

पशुपतिमा जलाउन ल्याइने शव घट्ने क्रम अझै जारी

नेपालखोज २०७७ वैशाख ८ गते १४:१९

काठमाडौँ । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव घट्ने क्रम अझै जारी छ । चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक बढीमा १० देखि १५ शव मात्र आएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

बन्दाबन्दीका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत कम भएकाले कम शव आएको हुनसक्ने कोषले जनाएको छ । देशविदेशबाट हुने उडान हाल बन्द छ । जसका कारण विदेशमा काम गर्न गएका नेपालीको शव आउने क्रम पनि रोकिएको छ ।

करिब १०० जनाको शव विदेशमै रहेको समाचार हालै सार्वजनिक भएको छ । यातायात सहज नभएपछि उपत्यकाको काठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ । यातायात सहज भएका बेला काठ क्षेत्रका मानिसले पनि पशुपतिमा शव जलाउन ल्याउँथे । यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काठ क्षेत्रमै रहेका घाटमा शवदाह हुन थालेको हो ।

राजधानीमा डेरा लिएर बस्ने धेरै मानिस आफन्तको निधन भएपछि पशुपतिमा दाहसंस्कार गरी त्यहीँ काजकिरिया गर्थे । किरियापुत्री सेवा बन्द गरिएपछि ती मानिसले पशुपतिमा शव ल्याउन छोडेका छन् । पशुपतिमा शव लैजाँदा ब्रह्मनालमा पशुपतिनाथलाई स्नान गरेको जलले अन्तिम स्नान गराउन पाइने भएकाले मृतकका आफन्तले आर्यघाट लैजान्थे । पशुपतिमा दाउराबाट र विद्युतीय दुवै विधिबाट शवदाहको सेवा उपलब्ध छ । विद्युतीय शवदाहतिर पनि बन्दाबन्दी अघिभन्दा शव घटेको छ ।

हाल पशुपतिमा आउने शवमध्ये धेरै भने विद्युतीय शवदाहमै जलाउन थालिएको छ । आर्यघाट एवं भष्मेश्वर घाटमा जलाउन चार घण्टासम्म लाग्ने र एक शवका कम्तीमा पनि १५० जना मलामी आउँदा भीड बढ्न गई कोरोनाको सङ्क्रमण बढ्न सक्ने भएकाले विद्युतीयतिर आकर्षण बढेको हो ।

विद्युतीय शवदाह गृहमा भने ४५ मिनेटदेखि सवा घण्टासम्ममा शवदाह सकिन्छ । विद्युतीयमा दुई वटा यन्त्र भए पनि एउटालाई सेलाएर मर्मत गर्नुपर्ने भएकाले हाल एउटाबाट मात्र सेवा दिइएको छ । विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । भष्मेश्वर घाटमा ११ वटा चिता छ ।

यसैगरी आर्यघाटमा रु पाँच हजार शुल्क लाग्छ । आर्यघाटमा दुई वटा चिता भए पनि १ नं चिता भने विशिष्ट व्यक्तिका लागि मात्र उपलब्ध हुन्छ । आर्यघाटको २ नं चितामात्र सर्वसाधारणका लागि खुला छ । दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताए ।

पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने ९लोड अनलोड० को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल ९टिसिएन० ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले जानकारी दिए ।

यो सुविधा अन्यत्रका घाट सेवामा नभएकाले पनि पशुपतिमा शव बढी आउँथे । अन्यत्र शवदाह गर्दा मृतकका आफन्तले नै दाउराको व्यवस्था गर्नुपर्छ । पशुपतिमा शव जलाइदिने कर्मचारी र ब्राह्मणको व्यवस्था पनि अन्यत्र भन्दा सहज छ ।

बन्दाबन्दी शुरु भएसँगै पशुपतिको घाट सेवामा कार्यरत कर्मचारीले सुरक्षा सामग्री नभएकाले शवदाह नगर्ने भन्दै विरोध जनाएका थिए । यसपछि मृतकका आफन्तले नै शवदाह गरेको जनाइएको छ । बन्दाबन्दीका अवसरमा बेखर्चीलाई शवदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा पनि कोषले गरेको छ ।

प्रतिक्रिया