बिहीबार, चैत १५, २०८०

अमेरिकी राष्ट्रपतिद्वारा “आप्रवासन” प्रक्रिया स्थगन गर्ने घोषणा

नेपालखोज २०७७ वैशाख ९ गते १३:५१

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् ।

“अदृश्य दुश्मनबाट आक्रमणका साथै हाम्रा महान अमेरिकी नागरिकहरूको रोजगारी जोगाउनु पर्ने परिस्थिति उत्पन्न भएका कारण संयुक्तराज्य अमेरिकामा अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा म हस्ताक्षर गर्दैछु” ट्रम्पले ट्वीट गरेका छन्।

उनले कार्यकारी आदेशबाट कुन अध्यागमन कार्यक्रममा के असर पर्न सक्छ भन्ने बारेमा कुनै विवरण प्रस्तुत गर्नु भएको छैन । ह्वाइट हाउसले पनि राष्ट्रपतिको ट्वीटमा गरिएको घोषणाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।

ट्रम्पले कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेका चीन र युरोपेली मुलुकहरुबाट अमेरिकातर्फ हुने यात्रालाई प्रतिबन्ध लगाइएको बारेमा श्रेय लिएका छन् । उनले यी प्रतिबन्धहरुले अमेरिकामा कोरोनाभाइरसको फैलावटमा सुस्तता आएको दाबी गरे ।

अमेरिकी विदेश मन्त्रालयले महामारीका कारण आप्रवासी भिसा लगायत प्रायः सबै भिसा प्रक्रिया हप्तौंदेखि स्थगित गरेको छ ।

अमेरिकामा हालसम्म ७ लाख ५० हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् भने ४२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया