बुधबार, वैशाख १२, २०८१

अमेरिकामा ग्रिनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित

नेपालखोज २०७७ वैशाख १० गते १४:४१

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । कोरोनाभाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी बसोबासका लागि दिइने ग्रिनकार्ड प्रदान गर्ने कार्यमा ढिलाई गर्नु परेको राष्ट्रपति ट्रम्पले बताए ।

राष्ट्रपति ट्रम्पले कतिपय विशेष परिस्थितिमा भने ग्रिनकार्डका बारेमा केही छुट दिइने पनि बताए,, तर उनले कस्तो अवस्थामा छुट उपलब्ध गराइन्छ भन्ने बारेमा पछि निर्णय गरिने स्पष्ट पारे । राष्ट्रपति ट्रम्पले घोषणा गरेको अस्थायी प्रतिबन्धमा “अस्थायी कामदार” का बारेमा केही उल्लेख छैन ।

ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षरपछि बोल्दै राष्ट्रपति ट्रम्पले आप्रवासनमा गरिएको अहिलेको प्रतिबन्धले अमेरिकी नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता प्राप्त हुने विश्वास व्यक्त गरे । “अर्थतन्त्र खुल्नासाथ विदेशबाट आउने नयाँ आप्रवासी मजदूरले अहिले बेरोजगार बनेका अमेरिकीलाई बिस्थापित गर्नु गलत र अन्याय हुन्छ ।”

अमेरिकी एक अधिकारीले नयाँ नियम अमेरिकामा रोजगार–आधारित ग्रिनकार्डका लागि आवेदन गर्ने तथा अमेरिकी नागरिक भइनसकेका तर ग्रिनकार्ड भएकाका नातेदारले गर्ने आवेदनमा मात्र सीमित हुने बताए । उनले अमेरिकी नागरिकले आफ्ना परिवारका सदस्यलाई अमेरिका ल्याउन कुनै समस्या नहुने स्पष्ट पारे ।

सन् २०१९ मा अमेरिकाले करिब १० लाख ग्रिनकार्ड जारी गरेको थियो । यीमध्ये आधाभन्दा बढी अमेरिकी नागरिकका पतिपत्नी, छोराछोरी र बाबुआमा थिए ।

ग्रिनकार्डमा कडाई गरिए पनि राष्ट्रपति ट्रम्पले बर्सेनि जारी हुने लाखौं गैर–आप्रवासी विदेशी कामदारको भिसामा रोक लगाउनु भएको छैन । अमेरिकामा फार्म कामदार, स्वास्थ्यकर्मी र सफ्टवेयर प्रोग्रामर समेतका लाखौं व्यक्ति गैर–आप्रवासन भिसामा प्रवेश गर्दछन् ।

माइग्रेसन पोलिसी इन्स्टिच्यूटको अनुमान अनुसार दुई महिनाको प्रतिबन्धको अवधिमा झण्डै १ लाख १० हजार ग्रिनकार्ड उपलब्ध हुने    छैन । राष्ट्रपति ट्रम्पले मुलुकको आर्थिक परिस्थितिलाई मूल्याँकन गरी थप निर्णय गरिने पनि बताए।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि वैध र अवैध दुबै किसिमको आप्रवासनमाथि कडाई गर्नुपर्ने भन्दै धारणा अघि सार्दै आउनु भएको छ । यी व्यक्तिले अमेरिकी नागरिकको रोजगारी खोसेको उनको भनाई छ ।

तर उनले कोरोनाभाइरसको आडमा आफ्नो पुरानो मान्यतालाई स्थापित गर्न खोजेको भन्ने आरोप अस्वीकार गरे । राष्ट्रपति ट्रम्पले यहीबीच कर सुधारदेखि सीमामा कडाईलाई पनि अघि बढाएका छन् ।

प्रतिक्रिया