शुक्रबार, वैशाख १४, २०८१

भारतद्धारा नेपाललाई २३ टन अत्यावश्यक औषधि प्रदान

नेपालखोज २०७७ वैशाख १० गते २०:१९

काठमाडौं । कोभिड–१९ विरुद्ध लड्न भारत र नेपालबीच जारी सहकार्यको क्रममा भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा पुगेर भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्रीलाई सो औषधी हस्तान्तरण गरेका हुन् । भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप सो औषधी हस्तान्तरण गरिएको जनाइएको छ ।

भारतले नेपाललाई उपलब्ध गराएको औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु छन् । औषधी हस्तान्तरणले जुनसुकै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने स्पष्टदेखिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न दुई देशका प्रधानमन्त्रील प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

सो समयमा सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता समेत गरेका थिए । भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरु यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् ।

सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको भारतीय राजदूताबासद्धार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया