बुधबार, वैशाख १२, २०८१

इँटा उद्योगमा रु एक करोड क्षति

नेपालखोज २०७७ वैशाख १४ गते ९:००

जीतपुर । पटक पटक परेको वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा रु एक करोडभन्दा बढीको क्षति भएको छ । भट्टीमा पोल्ने तयारी अवस्थामा रहेका २०–३० लाख काँचो इँटा बिग्रिएको त्रिशक्ति इँटा उद्योगका इञ्चार्ज हेम उचईले जानकारी दिए ।

इँटा उद्योगमा लडकाउनका कारण श्रमिक काममा नभएको तथा उत्पादित इँटा पनि करीब एक महिनादेखि बिक्री नहुँदा उद्योगी चिन्तित छन् । सवारी साधन सञ्चालन हुन नसकेका कारण जिल्लाभर ७३ इँटा उद्योगमा बिक्री शून्य भएको उद्योगीले जनाएका छन् ।

बुद्धभूमि नगरपालिका –८ स्थित सेभेन स्टार इँटा उद्योगमा करीब रु ३० लाख बढी क्षति भएको कपिलवस्तु इँटा उद्योग संघका महसचिव कृष्ण सापकोटाले जानकारी दिए । मजदूरलाई आफूले काँचो इँटाको प्रतिगोटाका आधारमा पैसा तिर्नुपर्ने बाध्यता भएकाले नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सापकोटाले गुनासो गरे । उत्पादित इँटा बिक्री नभएको र वित्तीय संस्थाबाट ल्याइएको कर्जा र व्याज तिर्नसमेत धौधौ भएको इँटा व्यवसायी डम्बर शर्माले बताए ।

इँटा बनाएर परिवार चलाउँदै आएका मजदूरलाई समेत यसको मार परेको छ । भट्टामै इँटा बनाएर घरखर्च जोहो गर्ने र आफ्नो कमाइले नौं जनाको परिवार पाल्दै आएका पिन्टु चौधरी बन्दाबन्दीले आफूहरुलाई समस्यामा पारेको बताउछन् ।

नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष सफर अलि मियाँले भट्टामा आश्रित मजदूरलाई रोजीरोटीको व्यवस्था गर्नसमेत मुश्किल पर्दै गएको बताउ । उनले भने,‘नाफा र नोक्सानी हेर्ने समय त होइन, कसरी आफू र मजदूरलाई बचाउने भन्ने सोचिरहेका छौँ ।’ काँचो इँटाको बीमा नहुने र सरकारले उद्योगीलाई क्षतिपूर्तिसमेत नदिने गर्दा उद्योगीले घाटा व्यहोर्नुपरेको मियाँको भनाइ छ ।

प्रतिक्रिया