शुक्रबार, वैशाख १४, २०८१

किन भएन बस्नेत, श्रेष्ठ र खनाल विरुद्धको मुद्धा दर्ता

नेपालखोज २०७७ वैशाख १४ गते १६:२९

काठमाडौं । काठमाडौं प्रहरी परिसरमा आईतबार एकाएक पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहितको टोली पुग्यो । यो देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका व्यक्ति काठमाडौं प्रहरी परिसर पुगेर मुद्दा दर्ता गर्ने प्रयास सफल हुन सकेन ।

उनीहरु आफ्नो पार्टीका नेता डा सुरेन्द्र यादवलाई अपहरण तथा शरीर वन्धकको जाहेरी दर्ता गर्न पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशवादी दलहरु फुटाउनका लागि ल्याएको अध्यादेश स्वीकृत भएसँग जनता समाजपार्टीका नेता सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण शैलीमा काठमाडौं ल्याएको आरोप भट्टराई लगायतका नेताहरुको थियो ।

उनीहरु नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रधानमन्त्री ओलीकै निर्देशनमा यादवलाई काठमाडौं ल्याउने प्रयास गरेका थिए । मुलुक लकडाउनमा भएको अवस्थामा उपत्यकामा रहेका बस्नेत, श्रेष्ठ र खनाल जनकपुर पुगेर यादवलाई काठमाडौं ल्याई मेरिट होटलमा राखेका थिए ।

तर भर्खरै मात्र काठमाडौं परिसरकमा प्रमुखका रुपमा पुगेका श्याम ज्ञवालीले पूर्व प्रधानमन्त्री भट्टराईले मुद्दा दर्ता गर्न खोज्दा मानेनन् । कारण थियो यी सवै क्रियाकलाप नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली कै निर्देशनमा भएको थियो । सत्ता र शक्तिको दुरुपयोग गर्दै काठमाडौ परिसरमा कुनै पनि हालतमा मुद्दा दर्ता नगर्ने प्रधानमन्त्री कार्यालयबाट नै निर्देशन दिइएको थियो ।

ती तीनजना विरुद्ध मुद्दा दर्ता गर्नका लागि नियम कानून बुझेर नै पूर्व प्रधानमन्त्री भट्टराई, उपप्रधानमन्त्री भईसकेका उपेन्द्र यादव र राजेन्द्र महतो र स्वयं सुरेन्द्र यादव समेत पुगेका थिए । विडम्वना एउटा अपहरणकारी विरुद्ध प्रहरीले मुद्दा दर्ता गर्न नै मानेन् । प्रधानमन्त्रीका नजिकका दुई सांसद र एक पूर्व प्रहरी प्रमुखलाई अपहरणमा संलग्न भएको आरोपलाई प्रहरीकै अनुसन्धानले पुष्टि गर्ने वा नगर्ने मार्ग प्रशस्त हुँदा पनि मुद्दा नै दर्ता नगरिनु भनेको गणतन्त्रमा पनि शक्तिमा भएकालाई कानून लाग्दैन भन्ने कुरा प्रष्ट देखिएको छ ।

केही दिन अघि मात्र सामाजिक सञ्जालमा आफ्ना मनका कुरा राखेकै भरमा पूर्व सचिव भीम उपाध्यालाई थुनामा राख्ने सक्ने तर मानिस अपहरण गरेको मुद्दा दर्ता नै गर्न नदिने कस्तो कानून हो । काठमाडौ प्रहरी परिसरले मुद्दा दर्ता गर्न नमानेपछि पूर्व प्रधानमन्त्री भन्छन्, ‘ओलीतन्त्रमा नियम कानून सवै लत्याएको छ, प्रहरीलाई दोष दिनु पर्ने अवस्था छैन उनीहरु माथिको आदेश चल्ने गरेका छन्’ ।

हुन पनि डा बाबुराम भट्टराई सहितको टोली महेश बस्नेत लगायका विरुद्ध मुद्दा दर्ता गर्न गएको थाहा पाएपछि दुईदिन अघिमात्र काठमाडौ प्रहरी परिसरमा हाजिर भएका श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय बोलाएर मुद्दा दर्ता प्रक्रिया अगाडि नबढाउने आदेश भएकोले सोही अनुरुप गर्न प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए ।

स्मरण रहोस् प्रहरी महानिरिक्षक ज्ञवाली श्याम ज्ञवालीका आफ्नै दाजु हुन् ।

प्रतिक्रिया