बिहीबार, चैत १५, २०८०

बन्दाबन्दीका कारण रोकिएको महाकाली कोरिडोरको काम सञ्चालन हुँदै

नेपालखोज २०७७ वैशाख १५ गते ७:५३

दार्चुला । एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो ।

कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न क्षेत्रमा काम सञ्चालन गर्नका लागि योजनाले तयारी थालेको हो । लकडाउनले छ प्याकेजमा जारी काममध्ये केही ठाउँमा एक दुई दिनभित्रै सञ्चालन गर्ने तयारी भइरहेको योजना प्रमुख अच्युतविलास पन्तले बताए । “सडक निर्माण शुरु गर्न प्रक्रिया अघि बढाएका छौँ”, उनले भने, “काम शुरु गर्न निर्माण व्यवसायी परिचालन हुँदैछन् ।”

यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण पूरै प्रभावित हुने अवस्था आएपछि निरन्तर समन्वयपछि निर्माण व्यवसायी काम सञ्चालन गर्न तयार भएका छन् । योजना सञ्चालन गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि निरन्तर छलफलपछि शुरु हुने अवस्थामा पुगेको योजना प्रमुख पन्तको भनाइ छ । दार्चुलाको महाकाली कोरिडोर जोड्ने लास्कु खोला र निजङगाड खोलामा पुल निर्माण गर्ने निर्माण व्यवसायी जिल्ला आइसकेका छन् । पुलको पिलर राख्न गिट्टी आवश्यक हुने हुदाँ क्रसरको लागि पहल भइरहेको छ ।

व्यास गाउँपालिका–४ सिनादेखि वडा नं २ को कोठेधारसम्मको नौ किलोमिटर सडक निर्माणको ट्र्याक खुलाउने गरी निर्माण व्यवसायी फिल्डमा पुगिसकेका छन । “एक दुई दिनभित्रै मेशिनमार्फत काम सञ्चालन हुँदैछ”, दार्चुला तिङ्कर सडक योजनाका इञ्जिनीयर एवं सूचना अधिकारी दिनेश रैखोलाले भने, “काम सञ्चालन गर्न कार्यस्थलमा साइट दिएका छौँ, कार्यालयको तर्फबाट फिल्ड पुगेर ठेकेदारलाई साइट दिएका हौँ ।”

विगतमा दार्चुला तिङ्कर सडक योजनाअन्तर्गत सञ्चालन भएको यो क्षेत्रमा कोठेधारमा कोरिडोरमार्फत काम हुँदैछ । हालसम्म यो क्षेत्रको ४० किलोमिटर सडकको साधारण ट्र्याक खुलाइएको छ । निर्माण शुरु भएको १० वर्षपछि यो क्षेत्रमा साधारण बाटो खुलाइएको हो । अहिले व्यास गाउँपालिकाको सुनसेरासम्म नियमितरूपमा ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् ।

प्रतिक्रिया