शनिबार, असोज १९, २०८१

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

नेपालखोज २०७७ वैशाख २१ गते ९:१०

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ । उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया