फरार सूचीमा रहेका वडाध्यक्षद्वारा आत्मसर्मपण

नेपालखोज २०७७ वैशाख २३ गते १०:३४

म्याग्दी । प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद गरेको थियो । हात हतियार तथा खरखजना मुद्दा चलाइएपछि शेरपुजा फरार भएका थिए । अनुसन्धानमा सहयोग गर्न र कानूनीरूपले मुद्दाको प्रतिवाद गर्न शेरपुजा आफैँ आइतबार प्रहरीकहाँ पुगेका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

उनका अनुसार प्रशासनबाट निजी हतियार राख्ने अनुमति नलिएका शेरपुजाको घरबाट बरामद भएको गोली प्रयोगशालामा परीक्षण गर्दा बाह्र बोरको भएको पुष्टि भएको छ । “उहाँ आफैँ अनुसन्धानमा सघाउने हिसाबले आउनुभएको हो”, प्रनाउ कुँवरले बताए ।

शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उममेद्वार भएर वडाध्यक्षमा निर्वाचित भएका थिए । अवैध हातहतियार वा गोलीगठ्ठा राखेकाले शेरपुजाविरुद्ध अदालतमा हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइएको थियो । फौजदारी अभियोग लागेपछि उनको पद निलम्बन हुने कानूनी व्यवस्था छ । अदालतले उनलाई दोषी ठहर गरे र पुनरावेदनमा पनि असफल भएमा वडाध्यक्ष पद गुम्नेछ ।

प्रतिक्रिया