बिहीबार, वैशाख १३, २०८१

प्यूठानमा टेस्ट किट अभाव, मानिसलाई जाँचबिनै घर पठाउन थालियो

नेपालखोज २०७७ वैशाख २६ गते १३:५४

प्यूठान । र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) किट सकिएकाले प्यूठानमा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचबिनै घर पठाउन थालिएको छ ।

प्रदेश सरकारले पठाएको किट सकिए पछि किटमार्फत जाँच गर्ने काम दुई दिनदेखि रोकिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।

जिल्लाका विभिन्न स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा बसेका व्यक्तिको १४ दिनपछि आरडीटी जाँच गरी होम क्वारेन्टाइनमा पठाउने गरिएको थियो । तर अहिले जाँच गर्ने किट नभएपछि क्वारेन्टाइनमा १४ दिन पुगेका व्यक्तिको बिनाजाँचनै घर पठाउन थालिएको छ ।

स्वर्गद्वारी, प्यूठान नगरपालिका, गौमुखी गाउँपालिका, मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका दुई सयभन्दा बढी ज्यक्तिलाई जाँचबिनै घर पठाउन परेको सुबेदीले बताए ।

स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मीको निगरानीमा रहनेगरी घरमा पठाउने गरिएको उनको भनाई छ ।  जिल्लामा ३ सय २० वटा किट प्राप्त भएकोमा सबै किट प्रयोग भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लामा अझै ७ सय ९९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया