बिहीबार, वैशाख १३, २०८१

राष्ट्रपति उद्धार सेवा पनि नेकपाकरण

नेपालखोज २०७७ जेठ १ गते २१:५१

काठमाडौं । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि नै बनाएर निशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालनमा छ । यो सेवामा राष्ट्रपति उद्धार कार्यक्रम भनेर राष्ट्रपतिको पदसमेत जोडिएको छ ।

यसकारण यो सुविधामा विभेद र निषेध, दुरुपयोग भएका अनेक घटनामा राष्ट्रपति जिम्मेवार हुने कि नहुने ? सुत्केरी हुन नसकेका, अत्यधिक रक्तश्राव भएका आमाहरुले मृत्यु बरण गर्नुपरेका घटनाहरुमा राष्ट्रपतिको चासो किन देखिदैन ?

समाचारअनुसार सुत्केरी हुन नसकेका दुर्गमका ३० र अन्य ४ जिल्लामा आंशिक रुपमा निशुल्क हेलिकोप्टर सेवामा पनि नेकपाकरण हुनु राजनीतिकरणको निकृष्ठ उदाहरण देखिनुले राष्ट्रपति पनि राजनीतिक पार्टीकरणमा मुछिन पुगेकी छिन् ।
गत एक वर्षमा रोल्पा, रुकुम, डोल्पा, तेह्रथुम, ताप्लेजुङमा सुत्केरी हुन नसकेका र अत्यधिक रक्तश्राव भएर कम्तिमा ३० आमाहरुको मृत्यु भएको बताइन्छ । ताप्लेजुङमा मात्र ८ आमाहरुले सुत्केरी हुन नसकी ज्यान फाल्नुपरेको छ । हारगुहार गर्दा पनि हवाई उद्धार हुन नसक्नु नेकपाकरणको तीतो यथार्थ हो ।

हवाई उद्धारका लागि नेकपाका नेता, मन्त्री गुहार्नुपर्ने, नेकपाका कार्यकर्ता बन्नुपर्ने, नेकपाको भोटर हुनुपर्ने अचम्मको राष्ट्रपति कार्यक्रम हुनपुगेको छ, सुत्केरी हुन नसकेका आमाहरुको उद्धार कार्यक्रम ।

नेकपासँग नजोडिएकाहरुले उद्धारको आशा गर्नु भनेको अकालमा मर्नु हुनपुगेको छ । गाउँमा स्वास्थ्यसेवा छैन, स्टेचर र अन्य सुविधा कता हो कता रु गाउँमा बालविवाह पनि जारी छ । बालिकाहरुसमेत दुई जिउकी हुने र बच्चा पाउन नसकेर अकालमै मर्ने घटना बढेर गएका छन् ।

सुत्केरी गराउने सुडेनीको साटो झारफुक गर्ने प्रचलन पनि जारी नै छ । महिलाहरुलाई चेतना दिने र अभरमा परेका आमाहरुलाई उद्धार गर्ने कार्यक्रममा कुन पार्टीको भनेर सोध्ने र त्यही अनुसारको व्यवहार गर्नु अमानवीयता हो, त्यो अमानवीयताका घटनामा राष्ट्रपति जोडिन पुगेकी छिन् ।

स्मरणरहोस्, डब्लु एचओका अनुसार दक्षिण एसियामा अफगानिस्तानपछि सुत्केरी हुन नसकेर हुने बढी मातृ मृत्युदर भएको मुलुक नेपाल हो । विश्व स्वास्थ्य संगठनको गतवर्षको प्रतिवेदन हेरे हुन्छ– हजारौं आमाहरु सुत्केरी हुन नसकेर मर्न बाध्य भएका छन् ।

नेकपासँगमात्र संलग्न आमाहरुको उद्धार गर्न यो सेवा स्थापना गरिएको हो भने राष्ट्रपतिको नाम होइन, नेकपाका आमाहरुको सेवाका लागि भनेर लेखे हुन्छ । जनताले तिरेको करबाट सेवा दिने, त्यो पनि सत्ताधारी दलसँग आवद्ध भएका महिलाहरुलाई मात्र । योभन्दा ठूलो अपराध अरु के हुन्छ रु

प्रतिक्रिया