शनिबार, वैशाख ८, २०८१

प्रेसको कार्ड भिरेर चोरी गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०७७ जेठ ७ गते १९:५२

काठमाडौं । प्रेसको कसरी दुरुपयोग भईरहेको छ भन्ने पछिल्लो उदाहरण एपी वन टेलिभिजनको प्रेस कार्ड भिरेर चोरी गर्दै आईरहेका तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरी पछि पुष्टि भएको छ । प्रेसको कार्ड भिरेर ल्यापटप, आइप्याड लगायतका सामान गरी चोरी गरेको अभियोगमा ३ जनालाई काठमाडौं महानगरपालिका–७ चाबहिल भत्केको पुलबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं धुम्बाराही बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका–१४ घर भएका आश्रय रिजाल हिमाल, हम्मे भन्ने २१ वर्षीय हिमाल रसाईली र काठमाडौं ओमबहाल बस्ने बारा बड्की फुलबारी गाउँपालिका–३ घर भएका २८ वर्षीय अलि आलम मिया रहेको प्रहरीले जनाएको छ ।

गत चैत ३ गते काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एरेर ५१ बोइज होस्टेलबाट ४ थान ल्यापटप र गत चैत २४ गते काठमाडौं महानगरपालिका–७ चावहिल भत्केको पुल बस्ने डा.सुविन मानन्धरको ल्यापट तथा आइप्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई चोरीका सामान सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ल्यापटप १ थान, आईप्याड २ थान, मोबाइल ६ थान, धारिलो हतियार ३ थान, प्रोजेक्टर २ थान, क्यामेरा १ थान, बा.२७ प ९४९० नम्बरको मोटरसाइकल, नगद ५३ हजार रुपैयाँ, अमेरिकी डलर ३ सय, चाइनिज युयान २ सय र एपिवान टेलिभिजनको प्रेस कार्ड १ थान समेत प्रहरीले बरामद गरेको छ ।

लकडाउनको मौका छोपी रात र दिनमा समेत चोरी हुने गरेको घटना नियन्त्रणका लागि खटिएको प्रहरीले अनुसन्धानको क्रममा चोरीमा संलग्न ब्यक्तिहरुले प्रहरीबाट उम्कन एपी वान टेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकार समेत बताएको र झोला जाँच गर्दा उक्त चोरीका सामान फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया