शुक्रबार, चैत १६, २०८०

चोरीका दुई कारसहित युवक पक्राउ

नेपालखोज २०७७ जेठ ९ गते १७:५०

कैलाली । प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने लोकबहादुर सार्कीका १६ वर्षीय छोरा नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिए ।

ती युवकले यही जेठ ३ गते सो उपमहानगरपालिका–४ उतरबेहडी बस्ने राजेन्द्रबहादुर मल्लले आफ्नै घर अगाडि सडकमा पार्किङ गरिराखेको बा८च २१०० नंको कार र ७ गते सोही ठाउँबाट रातिको समयमा रवीन्द्रदेव भट्टको डेरा कोठा भएको घरआँगनमा राखेको बा१४च ४७८१ नंको कार चोरी गरेको उनले बताए ।

युवकको साथबाट प्रहरीले नगद रु १२ हजार ४७०, विभिन्न कागजात र दुई थान मोबाइलसमेत बरामद गरेको बताइएको छ । निजले अन्य स्थानमा समेत चोरी गरेको हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिले यस कार्यालयमा सम्पर्क राख्न हुनसमेत अनुरोध गरिएको जनाइएको छ ।

प्रतिक्रिया