बिहीबार, चैत १५, २०८०

१०७ यात्रु बोकेको विमान दुर्घटना

नेपालखोज २०७७ जेठ ९ गते १८:१४

काठमाडौँ । पाकिस्तानको कराँची नजिकै चालक दलका सदस्यसहित १०७ जना यात्रु बोकेको विमान शुक्रबार दुर्घटना भएको छ ।

पाकिस्तानी सरकारी स्वामित्व रहेको पाकिस्तानी अन्तर्राष्ट्रिय विमान सेवाको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो ।

देशको नागरिक उड्डयन प्राधिकरणका अब्दुल सत्तार कोखरले दिएको जानकारी अनुसार अहिलेसम्म मानवीय क्षतिको पुष्टि गर्न सकिने अवस्था छैन ।

घटनास्लथमा उद्धारको कार्य भइरहेकाले पुर्ण विवरण आउन बाँकी नै रहेको उनले बताए । अधिकारीहरुका अनुसार विमानमा ९९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका थिए । दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको थियो ।

विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथ्ये ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुको भनाई छ ।

घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् ।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया