बिहीबार, असोज २४, २०८१

हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग

नेपालखोज २०७७ जेठ १० गते १४:२८

दार्चुला । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर सांसद ठगुन्नाले छाङरु र तिङ्करका स्थानीयवासी खलङ्गाबाट कुञ्चा हिँडिसकेको अवस्थामा उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गर्न माग गरे । नेपालतिर घोडेटो बाटो नभएको अवस्थामा खाद्यान्न समस्या समाधान गर्न तत्कालका लागि हेलिकोप्टर व्यवस्थापन गर्न उनले माग गरेका छन् ।

दार्चुलाका व्यास, छाङरु र तिङ्करका स्थानीयवासी बिहीबार भारतीय बाटो हुँदै गाउँ कुञ्चा सरेका छन् । उनीहरु चार दिनपछि मात्रै गाउँ पुग्नेछन् भने केही स्थानीयवासी नेपालतिरको बाटो भएर कुञ्चा सरेका छन् । यो क्षेत्रमा खाद्यान्न सङ्कट हुनसक्ने अवस्था रहेको भन्दै तत्काल खाद्यान्नको जोहो गर्न उनले माग गरेको छ ।

व्यासको छाङरुमा ११५ घरधुरी तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ । यो वर्ष झण्डै ७० प्रतिशत व्यासवासी कुञ्चा सरेर गएका व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए ।

विगतभन्दा यो पटक बढी स्थानीयवासी बसाइँ सरेका छन् । यो पटक बालबालिकासमेत लगेर स्थानीयवासी कुञ्चा सरेका हुन् । बन्दाबन्दीका कारण विद्यालय बन्द भएको तथा सदरमुकाम खलङ्गाभन्दा गाउँ सुरक्षित हुने भएपछि स्थानीयवासीले यो पटक बालबालिकासहित कुञ्चा सरेका छन् ।

प्रतिक्रिया