भारतीय क्वारेन्टाइनमा एक नेपालीको मृत्यु
भैरहवा । एक नेपाली युवाको भारतीय क्वारेन्टाइनमै ज्यान गएको छ । मृत्यु हुनेमा स्याङजाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३५ वर्षीय देवबहादुर थापा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको हो ।
उनलाई स्वदेश आउने क्रममा सुनौली नाकाको सीमानाबाट केही दिनअघि फर्काएर भारतको नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मृतक थापा भारतको दिल्ली नजिकैको अलिगढ भन्ने स्थानमा रोजगारी गर्ने गरेको र उनी मृगौलाको बिरामी भए पनि पछिल्लो पटक हर्नियाको पनि बिरामी रहेको जानकारीमा आएको बताएका छन् ।
उनलाई बिसञ्चो भएपछि हिजो भारतको महाराजगञ्ज जिल्लाको सदरमुकामस्थित अस्पतालमा उपचारार्थ लगिएको पाइएको जानकारी दिंदै प्रजिअ पन्थले भने, ‘औषधिसहित साँझ क्वारेन्टाइनमा फर्केका थापाको आज बिहान मृत्यु भएको जानकारी आयो ।’ प्रजिअ पन्थका अनुसार मृतकको भारतको महाराजगञ्जस्थित अस्पतालमै पोष्टमार्टम भइरहेको छ ।।
प्रतिक्रिया