शुक्रबार, वैशाख १४, २०८१

सामाजिक सञ्जाल नै बन्द गर्ने ट्रम्पको धम्की

नेपालखोज २०७७ जेठ १५ गते १३:१३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्चाल ट्वीटरले ट्रम्पले गर्ने ट्वीटमा झूठा विषयहरु राखेर भ्रमित गर्न थालेको भन्दै तथ्य–जाँच राखेपछि आक्रोशित बनेका उनले कम्पनी नै बन्द गराइदिने धम्की दिएका हुन् ।

ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाउँदै उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

मूलतः ट्वीटर केन्द्रित उनको यो चेतावनीले शासकहरु कतिसम्मको सोच राख्छन् भन्ने पनि देखाएको छ । आफूलाई प्रजातान्त्रिक भन्ने मुलुक अमेरिकाका राष्ट्रपति ट्रम्पले नै आफ्नो चाहना बमोजिम नचलेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की दिएका हुन् ।

आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्वीटरलाई सिएनएन र द वासिङ्गटन पोस्टसँग दाँज्दै राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै गरेको ट्वीटमा, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ’ भनेका थिए ।

बुधबार झनै आक्रोशित देखिएका उनले दुई ट्वीटरकै प्लेटफर्म प्रयोग गर्दै सामाजिक सञ्जाल ट्वीटरलाई नै आक्रमण गरेका हुन् ।

उनले ट्वीटमा भनेका छन्, ‘रिपब्लिकनहरुलाई लागेको छ कि सामाजिक सञ्जालहरुले कन्जरभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेका छन् । हामीले कडा नियमन गर्ने छौँ वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द गर्ने छौँ ।’

उनी भन्छन्, ‘सन् २०१६ मा उनीहरुले के गर्न खोजे भन्ने हामीले देखेकै हो तर उनीहरु असफल भए । त्यस्तो पुनः हुन दिँदैनौँ । जस्तो कि हामीले बिस्तारित स्तरमा हुलाक मार्फत मतदान गर्ने व्यवस्था पनि हुन दिने छैनौँ ।’ -एजेन्सी

प्रतिक्रिया