कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न खोज्दा स्थानीयको अवरोध, १२ राउड हवाई फायर
रौतहट । रौतहटमा दुई जना कोरोना संक्रमितलाई आसोलेसनमा राख्न गएको प्रहरी र स्वास्थ्यकर्मीको टोलीमाथि स्थानीयले अवरोध गरेका छन्।
इशनाथ नगरपालिका–७ जोकाहामा रहेका कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न खोज्दा स्थानीयले अवरोध सृजना गरेपछि दोहोरो झडप भएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले ‘हाम्रो मान्छे बाहिर लैजान पाइँदैन’ भन्दै स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको जानकारी दिए।
खड्काका अनुसार क्वारेन्टिनमा बसेका दुई सय मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरुलाई गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेका छन्। क्वारेन्टिनमा बसेकाहरु समेत बाहिर निस्किन थालेपछि हवाई फायर गरेको खड्काले बताए।
आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन्। स्थिति नियन्त्रणमा आएकाले केही बेरमा संक्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया