मंगलबार, वैशाख १६, २०८२

भारतबाट एक सातामै २३ हजार भित्रिए कर्णालीमा

नेपालखोज २०७७ जेठ १८ गते १४:४४

सुर्खेत । कर्णाली प्रदेश सरकारले जेठ २ गते सिमानामा नागरिकलाई आरडीटी परीक्षण गर्ने र नेगेटिभ नतिजा आएका सबैलाई सम्बन्धित स्थानीय तहमा पठाउने निर्णय गर्‍यो । जेठ ३ गतेदेखि नेपालगञ्जको रुपैडिया र कञ्चनपुरको गड्डाचौकीबाट नागरिकहरु भित्रन थाले । जेठ ५ गते नै कर्णालीमा पहिलो पटक कोरोना संक्रमित भेटिए, जो भारतबाटै फर्किएका थिए ।

भारतबाट आउने नागरिकबाट खतराको पूर्वसंकेत देखिए पनि प्रदेश र स्थानीय तहले क्वारेन्टिनसमेत तयार पार्न सकेनन् । जेठ ८ गतेसम्म आइपुग्दा सुर्खेतको भेरीबबई नाकाबाट आरडीटी चेक गर्न नसक्ने गरी नागरिकहरु भित्रन थाले । एकातिर आरडीटी परिक्षण बिना भारतबाट आएकाहरु सम्बन्धित स्थानीय तहमा पुगे । अर्कोतर्फ कोरोना संक्रमित थपिँदै गए ।

जेठ ५ गतेदेखि यो समाचार तयार पार्दासम्म कर्णालीमा कोरोना संक्रमितको संख्या १ सय २३ पुगिसकेको छ । पछिल्लो पटक हप्ता दिनमा मात्रै कर्णालीमा २३ हजार नागरिक कर्णालीमा भित्रिएका छन् । तर परीक्षणको दायरा भने बढ्न सकेको छैन । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हप्ता दिनमै झण्डै ३ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया