शुक्रबार, चैत १६, २०८०

गण्डकीका सबै जिल्लामा रङ्गशाला बनाइने

नेपालखोज २०७७ जेठ १९ गते १४:१०

कास्की । सङ्घीय सरकारसँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा एक/एक वटा रङ्गशाला बनाउने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रङ्गशाला निर्माण गर्ने नीति लिइने जानकारी दिए।

सरकारले प्रदेशमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ । आगामी फागुनमा प्रदेशमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने निर्णय यसअघि नै गरिएको छ ।

यसअघि आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७÷७८ को बजेटका सिद्धान्त तथा प्राथमिकता सदनमा प्रस्तुत गर्दै आगामी वर्ष पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिने बताएका थिए ।

सरकारले स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह एक खेलकूद मैदान कार्यक्रमलाई आवश्यकतानुसार निरन्तरता दिइने जनाएको छ ।

नीति तथा कार्यक्रममा प्रदेशमा खेलकूदको संस्थागत विकास गर्न आवश्यक कानून तर्जुमा गर्ने, नेपाल सरकारसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रङ्गशाला, उच्च हवाई खेलकूद तालिम केन्द्र र क्रिकेट रङ्गशालालगायतका खेलकूद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिने उल्लेख छ ।

सरकारले चालू वर्षमा स्थानीय तहसँगको सहकार्यमा २२ गाउँपालिका र पाँच नगरपालिकामा खेल मैदान र स्थानीयस्तरको रङ्गशाला निर्माण कार्य अघि बढाइएको जनाएको छ ।

नेपालमा आयोजना गरिएको १३औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गतका आठवटा खेल प्रदेश राजधानी पोखरामा सफलतापूर्वक सम्पन्न भएको र सो प्रतियोगितामा पदक विजेता यस प्रदेशका खेलाडी र प्रशिक्षकलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया