शुक्रबार, वैशाख १४, २०८१

टीकापुर पनि रहेन कोरोनाबाट अछुतो, चारजनामा कोरोना पुष्टि

नेपालखोज २०७७ जेठ २० गते १७:४९

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा एकै परिवारका तीनजनासहित चारजनामा कोरोना पुष्टि भएको छ। टीकापुर नगरपालिकामा ५ का एउटै परिवारका २०, ३५ वर्षका पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको हो।

टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले दिएको जानकारी अनुसार उनीहरु भारतको सुरतबाट जेठ ९ गते टीकापुर पुगेका थिए ।

त्यस्तै भारतको लकडाउनमा जेठ ८ गते आएका टीकापुर नगरपालिका १ का ६३ वर्षीय एक पुरुषमा समेत कोरोना पुष्टि भएको हो। उनीहरु सबैलाई टीकापुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। टीकापुर नगरपालिका १ स्थित कर्णाली माविको क्वारेन्टाइनमा रहेका उनीहरुसहित ४२ जनाको स्वाब संकलन गरिएको थियो । अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ। क्वारेन्टाइनमा १२ जना महिलासहित ९९ जनालाई राखिएको छ।

उनीहरुको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टोलीले थ्रोट स्वाब संकलन गरेको थियो। टीकापुर नगरपालिकाले १६ वटा विद्यालयमा भारतलगायत बाहिरबाट आएका ९ सय ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया