शुक्रबार, वैशाख १४, २०८१

शाखा अधिकृतको १० करोड अवैध सम्पत्ति,अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दायर

नेपालखोज २०७७ जेठ २० गते १८:५०

काठमाडौं । मालपोत कार्यालयका कार्यरत शाखा अधिकृतको १० करोड अवैध सम्पत्ति देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । ललितपुरका मालपोत अधिकृत वद्रीराज ढकालले अवैध रुपमा १० करोड रुपैयाँ आर्जन गरेको देखिएपछि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको कर्तुत सार्वजनिक भएको हो ।
ढकालले निजामति सेवामा प्रवेश गरेको २० वर्षे अवधिमा करिब ५० लाख रुपैयाँमात्रै तलब र भत्ताबापत बुझेको भेटिएको छ भने श्रीमतीको पारिश्रमिक भनी ७७ हजार रुपैयाँमात्रै आय देखाउन सकेका छन् । तर अहिले उनको सम्पत्ति १४ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस मध्ये १० करोड २७ लाख रुपैयाँको श्रोत भने खुलाउन सकेका छैनन् ।

२०५४ सालमा अस्थायी शिक्षकको रुपमा जागिर सुरु गरेका ढकालले २०५५ सालदेखि नासुमा निजामती सेवा प्रवेश गरेका थिए । सेवा प्रवेश गरेपछि उनी तनहुँ, कास्की, डिल्लीबजार, पर्सा लगायतका ठाउँमा बसेका थिए । आफूले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउन उनले साली नाता पर्ने व्यक्तिको नाममा सवारी साधन खरिद गरेको अख्तियारको आरोप छ ।

उनले तनहुँ मालपोत कार्यालयमा हुँदा स्थानीय डेकबहादुर गुरुङलाई प्रभावित पारी उनी र उनको श्रीमतीको नाममा जग्गा किनेको देखाई कारोबार गरेका थिए । एक लाख ९७ हजार रुपैयाँमा किनेको जग्गा केही दिनमै उनले एक करोड ६८ लाख रुपैयाँमा बेचेको देखाई गैरकानुनी आर्जनलाई वैधता दिने प्रयास गरेको अख्तियारको आरोप सहित मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया