लकडाउन खुकुलो पार्ने सरकारको तयारी
काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध गर्दै आएपछि पछिल्लो दिनमा सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।
जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न थालेसँगै सरकारले तहगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी थालेको हो । त्यसको तयारीस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले लकडाउनको विकल्पबारे राय लिएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार प्रधानमन्त्रीले योजना, अर्थ व्यवस्था, चिकित्सा, सामाजिक अभियन्ताहरूसहित २५ विषयविज्ञसँग छलफल गरेका थिए । छलफल फलदायी र उपलब्धिमूलक भएको बताइएको छ ।
कोडिभ–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पनि मंगलबार विभिन्न क्षेत्रका विज्ञसँग लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा छलफल गरेको थियो ।
समितिको बुधबार बसेको बैठकमा पनि लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । बैठकमा तहगत रूपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयार गरी सरकारलाई बुझाउने समझदारी जुटेको छ ।
प्रतिक्रिया