बिहीबार, जेठ ९, २०८२

सुदूरपश्चिम : ६० हजार बढी क्वारेन्टाइनमा

नेपालखोज २०७७ जेठ २५ गते १५:०८

कैलाली । सुदूरपश्चिममा भारतबाट फर्किएका ६० हजार बढी नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइन व्यवस्थित नहुँदा तथा कोरोना परिक्षण नहुँदा क्वारेन्टाइनमा बस्ने ब्यक्तीहरु तनाबमा रहेका छन्।

बिहीबार आरडिटी पाजेटिभ आएका बैतडीको दोगडाकेदार ७ घर भइ दोगडाकेदार ३ श्रीकोटमा आइसोलेसनमा बसेका दामोदर भट्टले हालसम्म पनि स्वाब संकलन नगरिँदा तनाव थपिएको बताए। उनले भने, ‘स्वाब संकलन नै गरेको छैन, मनमा चिन्ता लागेको छ, समयमै परीक्षण भएको छैन।’ तर प्रदेश स्वास्थ्य निर्देशनालयले भने शुक्रवारदेखि ५ दिनसम्म स्वाब संकलन नगर्न आफू मातहतका निकायलाई परिपत्र गरेको छ।

सुदूरपश्चिमको धनगढीमा रहेको एक मात्र प्रयोगशालामा नमूनाको मौज्दात १ हजार बढी रहेको भन्दै स्वाब संकलन बन्द गरिएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। उनले भने, ‘जनशक्तिको हिसाबले १ दिनमा बढीमा २५० मात्रै परीक्षण हुन्छ, संकलन भएको नमूना बढी दिन रह्यो भने बिग्रने र रिपोर्ट सही नआउने हुन्छ।’ प्रदेश मन्त्रिपरिषद्को निर्णयले धनगढीसहित सुदूपश्चिमका बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने भने पनि हालसम्म स्थापनाको काम अगाडि बढ्न सकेको छैन।

प्रतिक्रिया