रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौँ । भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
अहिले पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने कार्य जारी रहेको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्माण विज्ञ राजुमान मानन्धरले पोखरीको पिँधमा पहिलो तहमा बालुवा छर्ने, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो तहमा प्रताप मल्लका पालाका ‘महापा’ इँटाले सोलिङको काम भइरहेको बताए ।
उनका अनुसार पोखरीको पिँधमा सोलिङको काम सम्पन्न भइसकेपछि पोखरी क्षेत्रमा जडान गरिएको बोरिङबाट पानी राखिने काम सुरु गरिनेछ । पोखरी क्षेत्रमा दुईवटा बोरिङ जडान गरिएका छन् ।
बोरिङ चलाउन ‘थ्री फेज’ विद्युत्को लाइन आवश्यक पर्छ, जसको जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग औपचारिक प्रक्रिया शुरू भइसकेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया