बिहीबार, जेठ २, २०८२

अर्घाखाँचीमा क्वारेन्टीन बसेका एक पुरुषको मृत्यु, स्वाबको रिपोर्ट आउन बाँकी

नेपालखोज २०७७ जेठ २८ गते १३:५४

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टीनमा बसेका १ जना पुरुषको बुधवार मृत्यु भएको छ । मालारानी–४ खनका ती व्यक्ति १२ दिनअघि भारतबाट आएका थिए ।

मंगलवार उनी बिरामी भएपछि जिल्ला सदरमुकामस्थित सन्धीखर्क पठाइएको थियो । त्यहाँबाट उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले बिरामीलाई भर्ना गर्नुपर्ने भएपनि आफन्तले घर फिर्ता लगेको बताए । ‘चिकित्सकहरूले भर्ना गर्ने केस रहेछ भन्नुभएको रहेछ तर आफन्तहरूले मान्नुभएन ।

बिरामीलाई गाडीबाटै नझारी यहाँबाट लगेका रहेछन् । बिरामी अस्पतालमा भर्ना भएको होइन,’ उनले भने । बुटवलबाट अर्घाखाँची फर्किंदै गर्दा उनको बाटोमै निधन भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका स्वास्थ्य निरीक्षक गणेश पौडेलले लोकान्तरलाई जानकारी दिए ।

यसअघि ५७ वर्षीय ती पुरुषको घाँटीको शल्यक्रिया भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बुटवल ल्याइएको थियो । बुटवलबाट घर फर्किंदै गरेका उनको गोरुसिङ्गे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको पौडेलले जानकारी दिए । उनको स्वाबको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया