जथाभावी नबोल्न योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौँ । भारतका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालसम्बन्धमा दिएको वक्तव्य निन्दनीय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
बुधवार विनियोजन विधेयकका बारेमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले योगीले नेपाललाई धम्की दिएको हो भने त्यो निन्दनीय विषय रहेको प्रष्ट पारे ।
‘आदित्यनाथ योगीजी, उत्तरप्रदेशका मुख्यमन्त्रीले नेपालका बारेमा केही बोल्नुभयो भन्ने कुरा आएको छ, यदि उहाँले त्यसरी बोल्नुभएको हो भने जायज होइन,’ ओलीले भने, ‘नेपाललाई धम्क्याउन खोजेको हो भने उचित होइन ।’
केही दिनअघि योगीले तिब्बत चीनको कब्जामा गएको नेपालले स्मरण गर्नुपर्ने भन्दै अपमानजनक वक्तव्य दिएका थिए ।
प्रधानमन्त्री ओलीले योगी केन्द्रीय सरकारको प्रतिनिधि नभएको भए पनि त्यस्तो बोलेको भए आलोच्य र नेपालमाथिको अपमानका रूपमा आफूले बुझेको बताए ।
‘नेपाल हेपिन तयार छैन र हेपिन मान्दैन भन्ने कुरा म योगीजीलाई स्मरण गराउन चाहन्छु,,प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया