यसरी हुन्छ सुनको मूल्य निर्धारण
काठमाडौं । सुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ। बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ८९ हजार ६ सय तोकेको छ भने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ८९ हजार ७ सय तोकेको छ।
लामो समयदेखि यी दुई संस्थाले सुनचाँदीको मूल्य निर्धारण गरेर आफ्ना सदस्यलाई उपलब्ध गराउँदै आएका छन्। त्यसै अनुरूप सुनचाँदीको कारोबार भइरहेको छ। जुन महिनाको सुरुमा सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनको भाउ तोलाको ९० हजार रुपैयाँसम्म तोकेको थियो। अर्को महासंघले त्यसबेलासम्म मूल्य निर्धारण स्थगित नै गरेको थियो।
सुनचाँदी व्यवसायी महासंघले २५ जेठदेखि सुनचाँदीको मूल्य निर्धारण गर्न थालेको हो। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले भने १४ जेठबाटै मूल्य निर्धारण सुरु गरेको थियो। दुवै महासंघले ११ चैतबाट बन्दाबन्दी घोषणा भएपछि सोही दिनदेखि मूल्य निर्धारण स्थगित गरेका थिए।
केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ उतारचढावमा देखिन्छ। पछिल्लो दुई महिनाको व्यापारमा अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य प्रतिऔंश १६७६ डलरदेखि १७४६ डलरसम्म पुगेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
प्रतिक्रिया