‘पीसीआर रिपोर्ट नेगेटिभ आए मात्रै घर फिर्ता’
कपिलवस्तु । कपिलवस्तुका धेरैजसो पालिकाले १४ दिन आइसोलेसनमा बसेकालाई बिनापरीक्षण घर पठाउन थाले पनि बुद्धभूमि र शिवराज नगरपालिकाले भने सबैको पीसीआर परीक्षण गरेरमात्र घर पठाउने जनाएका छन् । बिरामी र आफूहरू रिपोर्ट नेगेटिभ आएर आश्वस्त भएपछि मात्र घर पठाउने बुद्धभूमि नगर प्रमुख केशव श्रेष्ठले बताए ।
‘परीक्षण नगरी पठाउँदा अन्य पालिकामा निकै भयको वातावरण बनेको छ,’ उनले भने, ‘हामी यसरी नगरवासीलाई उच्च जोखिममा राख्दैनौं ।’ अन्य पालिकामा परीक्षणै नगरी पठाइएका संक्रमितहरू गाउँघरमा त्रास बढेको उनले बताए । ‘गाउँलेहरू घरमै लुकेर बस्न बाध्य छन् । यस्तो हेलचक्य्राइँ गर्नु राम्रो हैन,’ उनले भने, ‘त्यही भएर हामी धेरै समय लागे पनि राम्रो परीक्षण विधि पीसीआर गराउन लागेका हौं ।’
पछिल्लोपटक सरकारले १४ दिन आइसोलेसनमा बसेका संक्रमित र क्वारेन्टाइनमा बसेकालाई थप लक्षण नदेखिए र बिरामी नभए परीक्षण नगरी छाड्ने नयाँ नीति ल्याएको छ । त्यसैअनुसार काम गर्दा कोरोनाका रेड जोनमा रहेका स्थानीय तहका क्वारेन्टाइन र आइसोलेसन सेन्टर धमाधम खाली भइरहेका छन् । यहाँका स्थानीय तहका आधाभन्दा बढी क्वारेन्टाइन रित्तिइसकेका छन् । आइसोलेसन सेन्टर पनि खाली भएका छन् । ‘हामी आरडीटीमा पनि भर पर्दैनौं,’ उनले भने, ‘एक हजार भीटीएम खरिद गरेका छौं ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया