भारतीय समूहले हतियार खोसेपछि गोली चलायो, एक जनाको मृत्यु
सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु भएको हो ।
घटनामा पाँच जना भारतीय घाइते भएका छन् । शुक्रबार बिहान करिब ९ बजे जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोजेपछि उनीहरुबाट आक्रमण हुँदा गोली चलाउनुपरेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताएका छन्।
गोली लागेर भारत पिपरा पर्साईन बस्ने २७ वर्षीय विकेश कुमारको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
१५ जनाको समूहमा आएका भारतीयले जबरजस्ती नेपाल प्रवेश गर्न खोजेको र प्रवेशमा रोक लगाएपछि नाकामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्नुका साथै हतियार खोसेपछि गोली चलाउनु परेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।
‘बिहान करिब ९ बजेतर्फ १५(२० जनाको समूहमा आएका उनीहरु जबरजस्ती नेपाल छिर्न खोजेका थिए, नाकामा खटिएका सुरक्षाकर्मीले प्रवेशमा रोक लगायो,’ श्रेष्ठ भन्छन्, ‘उनीहरुले काम पनि गर्न नदिने, प्रवेश पनि गर्न नदिने भन्दै हातपात गर्दै हतियार खोसे ।’
‘स्थिति नबिग्रोस् भनेर सुरक्षाकर्मी ब्याक भयो, उनीहरुलाई फिर्ता जान आग्रह गरिरहेको थियो,’ सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘तर, उनीहरुले मानेनन । नेपाली सीमाभित्रै प्रवेश गरेर हातपात गर्नुका साथै हतियार पनि खोसे। बाध्य भएर गोली चलाउनु परेको हो ।’
हतियार खोसेर भाग्न खोज्ने नवलकिशोर रायलाई नियन्त्रणमा लिइएको श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया